वीरगन्ज । आजदेखि देशभर शुरु भएको दादुरा/रुबेला खोप अभियानमा पर्सामा कुनैपनि बालबालिका नछुटाउने रणनीति लिएको छ । पर्सा जिल्लामा पहिलो चरणमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ र अन्य ७ वटा पालिकाकामा खोप अभियान सञ्चालन हुने र दोश्रो चरणमा महानगरपालिकाको वडा नम्बर ४ बाहेकका सबै वडा र ७ वटा पालिकामा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
खोप सञ्चालनका लागि वडाका स्वास्थ्य समिति र स्वास्थ्यकर्मीहरुबाट र विद्यालयहरुबाट बालबालिकाको जनसंख्याको लगत संकलन गरेको र जनसंख्याको आधारमा स्वास्थ्य मन्त्रालयले पठाएको लक्षित जनसंख्यालाई एकीकृत गरी त्यसबाट वास्तविक लक्षित संख्या यकिन गरेर खोप अभियान शुरु गर्न लागिएको अधिकृत ठाकुरले बताए । उनका अनुसार पर्सा जिल्लामा जनसंख्याको आधारमा १ लाख ९७ हजार ६ सय ३७ जना बालबालिकालाई खोप दिनुपर्ने लक्ष्य रहेको छ ।
त्यसका लागि १ हजार १ सय ४८ खोप केन्द्रमा २ हजार २ सय ९६ जना खोप दिने स्वास्थ्यकर्मी र ३ हजार ४ सय ४४ जना स्वयंसेवक परिचालन गरिएको छ । तर, जिल्ला भरका ५ सय ९७ वटा विद्यालयमा बालबालिकाको तथ्यांक संकलन गरिएको र त्यस मध्य मदर्सामा ६ हजार ९ सय ३३ जना, निजी विद्यालयमा ७३ हजार ८सय ३ जना, सामुदायिक विद्यालयमा १ लाख २ हजार ४ सय ७२ जना बालबालिकालाई खोप दिनुपर्ने देखिएको छ ।
विद्यालय अनुसार १ लाख ९३ हजार २ सय ८ जनसंख्यामा खोप लगाउनुपर्ने लक्ष्य रहेको छ । समुदायमा रहेको अनुमानित बालबालिको संख्या २२ हजार १ सय ५० र जिल्लाले अनुमान गरेको २ लाख १५ हजार ३ सय ५८ बालबालिकालाई खोप दिनुपर्ने देखिएको छ । पर्सा जिल्ला पूर्ण खोप घोषणा उन्मुख जिल्ला रहेको र जिल्लाको दुईवटा पालिका पकाहामैनपुर र कालिकामाई गाउँपालिकामा मात्रै खोप कार्यक्रममा थोरै समस्या भएपनि पूर्ण खोप पालिका भने घोषणा भईसकेको स्वास्थ्य अधिकृत ठाकुरले बताए।
पहिलो चरणमा फाल्गुन १३ आईतबारदेखि २१ गतेसम्म वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४, पोखरिया, पर्सागढी नगरपालिका, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा र दोश्रो चरणमा महानगरपालिकाको ४ नम्बर बाहेकका सबै वडा र बहादुरमाइ नगरपालिका, ठोरी, छिपहरमाइ, पकहामैनपुर, विन्दवासनी, धोवनी र कालिकामाई गाउँपालिकामा खोप सञ्चालन गरिने छ ।