वीरगन्ज । आज नेपालका प्रथम शहिद लखन थापा मगर स्मृति दिवस देशभर मनाईदै छ । लखन थापालाई राणाशासन विरुद्ध जनताहरुलाई राजनीतिक चेतना प्रदान गरेर जनसंगठन गरी राणातन्त्र विरोधी गतिविधि गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो ।
देवीदत्त पल्टनका सैनिकहरुले मृत्युदण्ड सुनाइएका विद्रोहीहरुलाई गोरखा पु-याए र वि.सं. १९३३ फागुन २ गते सबै भन्दा पहिले विद्रोही नेता लखन थापालाई गोरखा बुंकोटको आफ्नै किल्ला परिसर भित्र प्रतिस्थापन गरिएको मनकामना मन्दिर अगाडिको खिर्राको बोटमा झुण्ड्याएर मृत्युदण्ड दिइयो ।
उनै लखन थापा मगरको योगदानलाई सम्झिदै आज देशभर प्रथम शहिद लखन थापा स्मृति दिवस मनाईदै छ । नेपालको राजनीतिक इतिहासमा वि.सं. १९२७ देखि १९३३ सम्म जनसंगठन गरी लखन थापाको नेतृत्वमा भएको विद्रोह नै राणातन्त्र विरुद्ध जनस्तरबाट उठेको पहिलो विद्रोह थियो ।
जुन विद्रोहले जंग बहादुर राणाद्वारा स्थापित एकतन्त्रीय तानाशाही शासनको अँध्यारो कालरात्रीमा अधिकार विहिन अवस्थामा पिल्सिरहेका नेपाली जनताहरुलाई संगठित र राजनीतिक सचेतना प्रदान गरी पहिलो पटक प्रजातन्त्र प्राप्तिको विद्रोहमा सहभागी गराउने सफलता प्राप्त ग-यो ।
यो यस्तो ऐतिहासिक महत्वको विद्रोह बन्न पुग्यो जुन विद्रोहले राज्यसत्ता माथि अविछिन्न रुपले आफ्नो अत्याचारी र हुकुमी शासनको आधिपत्य कायम राखिराख्न चाहने जंग बहादुर राणाको मुटु हल्लाई दियो । जंगबहादुरको निरंकुश शासन विरुद्ध राजनैतिक दस्तावेज समेत तयार गरी जनताद्वारा बैकल्पिक सत्ता स्थापना गरेर अगाडि बढेको यो सशस्त्र विद्रोहलाई चानचुने मान्न सकिदैन ।
यस घटनाले नेपाली समाजमा राजनैतिक चेतनाको दियो बाल्ने र प्रजातान्त्रिक आन्दोलनको जग बसाल्ने काम गर्न सक्यो । त्यसैले यस विद्रोहका नायक लखन थापा मगरको बलिदान र योगदानको कदर गर्दै नेपाल सरकारले उनलाई वि.सं. २०५६ मा शहिद घोषणा गरेको थियो ।
भने वि.सं. २०७२ साल असोज ३ गते औपचारिक रुपले नेपालको पहिलो शहिदको दर्जा प्रदान गर्ने निर्णय ग¥यो । हाल संघीयता कार्यान्वयन भए पछि शहिद लखन थापाको नाममा साविकको बक्राङ्ग, मनकामना, ताकलुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स मिलाएर शहिद लखन गाउँपालिका बनेको छ ।
निश्चय नै यो पदवी उनको बलिदानी पूर्ण त्याग र जनअधिकार स्थापनाका लागि गरेको कठिन संघर्षप्रतिको सम्मान हो । साथै यो सम्मान लोकतन्त्र र न्यायप्रेमी सम्पूर्ण नेपाली जनताहरुको गौरवको विषय पनि हो । शहिद लखन गाउँपालिकामा आज सार्वजनिक विदा पनि दिने गरिएको छ ।