वीरगन्ज । नेपालको प्रमुख प्रवेशद्वार, आर्थिक तथा औद्योगिक नगरी वीरगन्ज । नामको शाब्दिक उपमाले नै व्यापारिक नगरी भन्ने स्पष्ट हुन्छ । वीरगन्ज व्यापार व्यावसायको लागि ठूलो सहर हो । यहाँ व्यापार व्यावसायले निकै चलायमान होला भन्ने अनुमान गर्न सकिन्छ ।
तर, यतिखेर व्यापारिक नगर वीरगन्जको व्यापार सुस्त छ । देशको आर्थिक राजधानी वीरगन्ज, व्यापारिक नगरी, नेपालको तेश्रो मुलुकसँगको व्यापारका लागि सीधा समुद्रमार्गसँग जोडिएको ठाउँ । राजस्व संकलनको प्रमुख स्थानहरु मध्य दोश्रो स्थानमा पर्ने वीरगन्ज यतिखेर निकै शिथिल बन्दै गएको छ । व्यापार व्यावसाय चौपट भएपछि अहिले व्यावसायको ‘आउटलेट’ राख्ने सहरका सटर पसल र घर हरुमा ‘टु–लेट’ का बोर्ड झुण्डिएका देखिन्छन् ।
साना चिया पसलदेखि ठूला ठूला औद्योगिक घरानाका व्यापारीहरुमा नैराश्यता छाएको छ । कपाल काट्ने हजामको पेशादेखि सडकमा यात्रु ओसार्ने अटो रिक्सा चालकको पेशा मात्रै होईन चिकित्सा पेशा पनि संकटमा परेको छ । सैलुनमा कपाल दाह्री काट्न आउनेहरुदेखि अटोमा सवार गर्ने यात्रुहरु नपाउँदा पेशाकर्मीहरुलाई दैनिकी नै अप्ठ्यारोमा पर्ने चिन्ता बढेको छ ।
देशको आर्थिक सूचकांक आशालाग्दो रहेको छ । तर, भुईँ तहको अवस्था भने निराशाजनक छ । दैनिक कार्यालय जानेहरु आजभोली हिडेर गईयो भने अटोमा लाग्ने भाडाले दुईछाक तरकारी किन्न हुन्छ भनेर सोच्न बाध्य छन् । जसले गर्दा अटोमा यात्रु नपाएर आफ्नो निर्धारित रुटमा चल्ने अटोले पनि यात्रु बटुल्दै हिड्नुपर्ने अवस्था छ ।
एक अटो चालक भन्छन्, ‘रुटमा यात्रु पर्खेर बस्दा नभेटिएला कि भन्ने चिन्ता हुन्छ । त्यसैले जुन रुटको यात्रु पाउछ त्यहि रुटको यात्रु बटुल्दै हिड्नुपरेको छ ।’ निम्नवर्गसँग मात्रै होईन अहिले मध्यमवर्गका परिवारसँग पनि पैसा छैन । बजारमा उद्योग व्यापार गर्नेहरुलाई बैंकको ब्याज र किस्ताले पिरोलेको छ । उनीहरु पनि बैंकको ब्याज र किस्ता तिर्ने पैसा बचत गर्नकै लागि घरको भान्सामा लाग्ने खर्चमा कटौती गर्न बाध्य छन् ।
निम्न, मध्यम र सम्पन्न सबैतिर आर्थिक संकट परेपछि स्वास्थ्य समस्या भएकाहरुले समेत समयमा उपचार गर्नका लागि स्वास्थ्य संस्थामा जानेहरुको संख्यामा पनि कमी आएको चिकित्क तथा स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । देशको यस्तो अवस्था आफ्नो जीवनको पहिलो अनुभव रहेको व्यावसायमा लागेकाहरुको भनाई छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम भन्छन्, ‘देशको अर्थतन्त्र निकै चिन्ताजनक अवस्थामा छ । मेरो जीवनको अहिलेसम्मकै सबैभन्दा खराब अर्थतन्त्र हो यो । मैले अहिलेसम्म यस्तो अवस्था केहिल्यै थाहा पाएको थिईनँ । सरकारसँग पैसा छ । खर्च गर्न सकिरहेको छैन । देशमा सुशासन कायम भएन । निर्माणक्षेत्रले गति लिन सकेन । पैसा बैंकमा थुप्रिएर बसेको छ ।’
व्यापारिक नगरी वीरगन्जका सटर पसलहरु अधिकांश बन्द हुन थालेका छन् । कतिपयले व्यावसायबाट नै पलायन समेत भएका छन् । वीरगन्जको मुख्य बजारमा पसल खोलेकाहरु बन्द गरेर पलायन भएका हुन् । आर्थिक मन्दीले २५ देखि ३० प्रतिशत मात्रै उद्योगहरु सञ्चालनमा रहेको अवस्थामा अहिले अनियमित विद्युत कटौतीले दोहोरो मारमा उद्योगहरु परेको गुनासो गरेका छन् ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगहरुको उत्पादनमा ह्रास आएको छ । राज्यको गलत आर्थिक नीतिका कारणले कच्चा पदार्थ महंगो पर्ने र तयारी भारतीय वस्तुहरुसँगको बजारमा प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उत्पादन गर्ने उद्योगहरु थप मारमा परेको उद्योगीहरुले बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारहरुले सरकारदेखि सत्तारुढ दल र विपक्षी दलका नेताहरुलाई समेत व्यक्तिगत र संस्थागत भेटेर देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै समाधानका लागि उपाय र सुझाव समेत दिएका छन् । तर, ती सुझाव र उपाहरुको बारेमा सरकारले खासै वास्ता नगरेको उनीहरुको गुनासो छ ।