वीरगन्ज । वीरगन्जमा सम्पन्न आठौं प्याब्सन अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि मनकामना माविले जितेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा एमईएस माविलाई २४ रनले पराजित गर्दै मनकामना माविले यसबर्षको उपाधि उचालेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको एमईएस माविले निर्धारित ओभरमा पूरा विकेट गुमाउदै १२९ रनको योगफल तयार पारेको थियो । १३० रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको मनकामना माविले निर्धारित ओभरमा १५३ रन बनायो । विजेता टिमलाई कार्यक्रमका विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाले मेडल, पुरस्कार र शिल्ड प्रदान गरेका थिए ।
समापन समारोहका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर उपप्रमुख इम्तियाज आलम उपस्थित भएपनि कार्यवयस्ताका कारण समापन पहिले नै कार्यक्रमबाट जानुपर्ने भएपछि शैक्षिक प्रशासन महाशाखा प्रमुखको हातबाट पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा एमईएस मावि दोश्रो र साउथ जोन मावि तेश्रो भएका छन् ।
गौतम माविलाई ७ रनले पराजित गर्दै साउथजोन माविले तेश्रो स्थान हात पारेको हो । गतबर्षको च्याम्पियन साउथजोन माविले यसपटक तेश्रो स्थानमा चित्त बुझाउनु परेपनि जुनियरतर्फको फुटबल प्रतियोगितामा साउथजोन च्याम्पियन बनेको छ । साउथजोनले लिटल फ्लावर माविलाई २–१ गोलले पराजित गर्दै यो बर्षको जुनियर नकआउट फुटबल प्रतियोगिताको उपाधि हात पारेको हो ।
प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र महानगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको समापन समारोहमा विशिष्ट अतिथि मधेस प्रदेश नीति आयोगका सदस्य डाक्टर हरिशंकर साह, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, कृष्ण उदास खनाल,
आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष अजित कुमार भुजेल, मधेस प्रदेश बरिष्ठ उपाध्यक्ष श्याम केसी, प्याब्सनका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, सदस्य डा.दीपेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताका उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, म्यान अफ द सिरिज, म्यान अफ द म्याच लगायतका विधामा पुरस्कार वितरण गरिएको थियो । समापन समारोहमा कार्यक्रमको सञ्चालन प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले गरेका थिए ।