वीरगन्ज । शनिबारबाट शुरु भएको आठौं प्याब्सन अन्तर विद्यालय नकआउट टि–२० क्रिकेट प्रतियोगितामा साउथ जोन मावि र गौतम मावि विजयी भएका छन् । पहिलो खेलमा साउथ जोनले सेन्ट जेभियर्सलाई ९ विकेटले हराएको हो । टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्स निर्धारित ओभरमा पूरै विकेटको क्षतिमा ८९ रन बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको साउथ जोनले ८.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो । पहिलो खेलको साउथ जोनका चन्दन राम म्यान अफ द म्याच घोषित भएको प्रतियोगिताका संयोजक अमित आलोकले बताए । त्यस्तै गौतम मावि र ज्ञानज्योती माविबीच भएको दोश्रो खेलमा गौतम मावि विजयी भएको छ ।
समय अभावका कारण १५ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानज्योती माविले पूरा ओभरमा ६ विकेट गुमाउदै ९० रनको लक्ष्य दिएको थियो । ९१ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको गौतम माविले १४ ओभर ७ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । दोश्रो खेलको म्यान अफ दी म्याच गौतम माविका अंशु कुमार साह घोषित भएका छन् ।
त्यसअघि आदर्शनगर क्रिकेट रंगशालामा प्रतियोगिताको उद्धघाटन प्रमख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गरे ।
उदघाटनसत्रमा बोल्दै मेयर सिंहले वीरगन्ज खेलकुदको उर्वरभूमि भएकोले सबै खेलकुदको विकासका लागि वीरगन्ज महानगरपालिका हातोमालो गर्न तयार रहेको बताए । वीरगन्जबाट धेरै खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती कमाएको बताउदै वीरगन्ज र देशलाई चिनाउने खेलाडीहरुलाई तीनवटै तहले सम्मान र उनीहरुको भविष्य सुरक्षित गर्नुपर्ने बताए ।
निजी विद्यालयहरुले अन्तर विद्यालयस्तरमा प्रतियोगिताको आयोजना गरेर सराहनीय काम गरेको बताउदै मेयर सिंहले राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना गर्न सुझाव दिए । उनले त्यसको लागि महानगरपालिकाले गर्नुपर्ने सहयोग गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा मधेस विश्व विद्यालयका रजिष्ट्रार विजय यादव, प्रेस सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, एनप्याब्सनका पर्सा अध्यक्ष रामराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साउथजोन माविका सहायक प्रिन्सिफ अशोक संग्रौलाले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाले गरेका थिए ।
जिल्ला ३० वटा विद्यालयहरु सहभागिता रहेको प्रतियोगितामा ४ समुहमा विभाजन गरिएको छ । प्रतियोगिता आयोजनाका लागि ७ लाख ८२ हजार ४५० बजेट छुट्याइएको आयोजकले जनाएको छ । उदघाटन् सत्रमा गरिएको मार्चपासमा मनकामना मावि प्रथम, मस्कोट मावि दोश्रो र एमईएस मावि तेश्रो भएको थियो ।
विद्यालयस्तरबाटै उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्याब्सन वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाले बताए । उदघाटन सत्रमा गरिएको मार्चपासमा मनकामना मावि प्रथम, दोश्रो मस्कोट मावि र एमइएस मावि तेश्रो भएका छन् ।