वीरगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले समग्र मधेसको लागि अझै अन्दोलन जारी रहेको बताएका छन् ।
मधेस प्रदेश सरकारले शुक्रबार वीरगन्जमा आयोजना गरेको छैठौं बलिदानी दिवस कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेस आन्दोलनले शासन प्रणालीलाई नै परिवर्तन गरेर पहिचान स्थापित गरेपनि समग्र मधेसको लागि आन्दोलन जारी नै रहेको बताएका हुन् ।
राज्यसत्तामा समान अधिकार सहित मधेसमा स्वशासन गर्ने आफ्नो एजेण्डा नै रहेको र अहिलेपनि शासन प्रणालीको वर्ग मात्रै परिवर्तन भएको जिकिर गरे ।
मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री मोहम्मद समिमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले मधेस र मधेसीको पहिचानका लागि शाहदत्त प्राप्त गरेका सबै सहिद, घाईते, अपांगहरुको सम्मान र व्यावस्थापनका लागि प्रदेश सरकार जिम्मेवार रहेको बताए ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, मधेस प्रदेश उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा घाईते, अपांग र सहिद परिवारहरुलाई नगद सहित ब्ल्यांकेट वितरण गरिएको थियो ।
राहत वितरणमा भेदभाव गरेको भन्दै केहीबेर तनाब
बलीदानी दिवसमा मधेस प्रदेश सरकारले वितरण गरेको राहत सहयोगमा भेदभाव भएको भन्दै सहभागीहरुले विरोध जनाएका छन् । कार्यक्रममा घाईते, अपांग र सहिद परिवारहरुलाई चेक र ब्ल्यांकेट विपतरणमा भेदभाव गरिएको भन्दै विरोध जनाएपछि केहीबेर तनाब भएको थियो ।
हलमा सहभागीहरुले राहत वितरण पाउनुपर्नेहरुको नाम छुटाएको भन्दै सहभागीहरुले होहल्ला गर्न थालेपछि केहीबेर कार्यक्रम बिथोलिएको थियो । प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्रीले असन्तुष्टी व्यक्त गर्नेलाई समय दिएर उनीहरुको भावनालाई कदर गरेको र राहत वितरण गर्न बाँकी रहेकाहरुलाई पनि निरन्तर बाडिने जनाएपछि कार्यक्रम पुनः शुरु भएको थियो ।