वीरगन्ज । संक्रान्ति भन्ने बिक्तिकै तिथिमा महिनाको पहिलो दिन अर्थात १ गते हो । तर, कहिलेकाही मान्छेले जानेर वा नजानेर संक्रान्ति कति गते पर्छ ? भनेर सोधिरहेका हुन्छन् । नजान्नेले सोध्यो भने हाँसो उठ्ने गर्छ । तर, जान्नेले सोध्यो भने जिस्किएको भान हुन्छ । गाउँघरमा सोझा सिधा मान्छेहरुले कहिलेकाही माघे संक्रान्ति कति गते पर्छ भनेर सोध्ने गरेको पनि सुन्ने गरिन्छ ।
माघ १ अर्थात माघे संक्रान्ति अब संक्रान्तिको रुपमा मात्रै रहेन । कुनै समयमा एकल जातीय शासन व्यावस्थामा यसलाई हिन्दुकरण गरेर नै राज्यले संक्रान्तिलाई मान्यता दिएर बिदा दिने चलन थियो । तर, मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र घोषण भएपछि यो मुलुकमा बसोवास गर्ने सबै जातजाति, भाषा, धर्म, संस्कृति मान्नेहरुले आफ्नो पर्वहरुको बारेमा स्वतन्त्र रुपमा मनाउन पाएका छन् ।
माघे संक्रान्ति बाहेक माघ १ गतेका दिन विभिन्न नाममा पर्वहरु मनाउन थालिएको छ । सोमबार पर्सामा पनि थारु बाहुल्य क्षेत्रमा माघी महोत्सवको रुपमा थारु सम्वत मनाएका छन् । वीरगन्ज महानगरपालिकाको पूरानो बसपार्कमा, जीराभवानी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, पर्सागढी नगरपालिका, सखुवा प्रर्सौनी गाउँपालिकामा भव्य रुपमा थारु सम्वत (माघी) पर्व मनाईएको छ ।
एक दिन भव्य रुपमा मनाईएको थारु सम्वत अर्थात माघीले मनोरञ्जन मात्रै दिएको छ कि केही सांस्कृतिक, सामाजिक आन्दोलनका लागि यसले केही उर्जा प्राप्त ग¥यो गरेन ? भन्ने मूल प्रश्न हो । सांस्कृतिक पहिचानका धनी आदिवासी जनजाति समुदाय र मधेस तराईका जिल्लाहरुमा बाहुल्यता रहेको थारु समुदायले यस पर्वलाई सामान्य पर्वका रुपमा मात्रै मनाउने वा यसबाट अधिकार प्राप्तीको लागि शक्ति र उर्जा प्राप्त गर्ने माध्यमको रुपमा पनि विस्तार गर्ने ? भन्ने प्रश्न उठ्नु आवश्यक छ ।
पर्सा जिल्लामा दुईवटा गाउँपालिकामा आदिवासी जनजाति थारु समुदायको नेतृत्वमा स्थानीय सरकार छ । एउटामा आदिवासी समुदायकै नेवारको नेतृत्वमा स्थानीय सरकार सञ्चालनमा रहेको छ । ती स्थानीय तहका सरकार प्रमुखहरुले आफ्नो समुदायको सांस्कृतिक पर्व, भाषा, धर्म र संस्कृति संरक्षणमा कति चासो दिएका छन् ? आदिवासी जनजाति समुदायको उत्थान र राजनीतिक अधिकार प्राप्तिको लागि नीतिहरु कति बनाए त्यसतर्फ पनि ध्यान दिन जरुरी छ ।
माघे संक्रान्ति यहि पर्वलाई मधेस तराईमा बसोवास गर्ने थारु समुदायले आफ्नो नयाँ बर्ष शुरुवातको रुपमा माघी पर्व मनाउन थालेका छन् । थारु समुदायकै व्यक्तिहरुको भनाई अनुसार ५५ बर्ष अघिदेखि यो पर्व मनाउदै आएपनि खुला रुपमा मनाउन थालिएको चाहिँ अनुसार २०४६ सालको प्रजातन्त्र पुर्नस्थापना पछिको समयपछि मात्रै नेपालका आदिवासी जनजाति समुदायले आफ्नो सांस्कृतिक पर्वहरु खुला रुपमा मनाउदै आएका छन् ।
निरंकुश जहाँनिया राणा शासनकालमा कानूनी रुपमा नै आफ्नो परम्परागत भाषा, धर्म, संस्कृति र रितीरिवाज मनाउन बन्देज लगाएको अवस्था र त्यसपछि पनि खुलेर आफ्ना चाडपर्वहरु मनाउन नपाईएको अवस्थामा विभिन्न खालखण्डमा भएको आन्दोलनको उभारले नागरिक र समुदायमा आफ्नो अधिकारको विषयमा बोल्ने चेतनाको विकास ग-यो । त्यसैको परिणाम स्वरुप अहिले देशमा विभिन्न समुदायले आ–आफ्ना परम्परा अनुसारको चाडपर्वहरु मनाउन थालेका छन् ।
माघ १ गते कै दिन नेपालको जनसंख्यामा तेश्रो स्थानमा रहेको मगर समुदायले माघ्या सकराँटी भनेर राष्ट्रिय पर्वको घोषणा गरेर मनाउन थालेको छ । थारु समुदायले माघी तथा थारु सम्वतको रुपमा मनाउने गर्छन् । किराँत समुदायले प्रथम राजा यलम्बरले शुरुवात गरेको येले सम्वत ५०८४ मनाएका छन् । विभिन्न जाति समुदायले माघ १ गते नै फरक फरक नामले मनाईने पर्व वास्तवमा एकताको प्रतीककै रुपमा रहेको छ । तथापी यो दिनलाई अझै अपनत्व महशुस गर्न आदिवासी जनजाति समुदायले पाएका छैनन् ।
अहिले विस्तारै उठ्न थालेको सांस्कृति जागृति र यसले ल्याएको चेतनाको उभारलाई आदिवासी जनजाति समुदायका निर्वाचित जनप्रतिनिधिहरुले गम्भीर ढंगले विचार गरेर नीतिगत तहमा नै पहल कदमी लिन जरुरी छ । स्थानीय सरकारको नामबाट हरेक बर्षको माघ १ गते दिईने सहयोगबाट मात्रै तेश्रो जनसंख्याको रुपमा रहेको ६.६%मा रहेको थारु समुदायको केही विकास हुन सक्दैन ।