वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रदान गर्दै आएको गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवानलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोपाल गिरीको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार पासवानलाई प्रदान गरिएको हो । तत्कालिन ज्ञानेन्द्र शाहको शासनकालमा वीरगन्ज उपमहानगरकाको मेयरमा मनोनित भएका गिरीलाई २०६० साल माघ १ गते तत्कालिन माओवादीले हत्या गरेको थियो ।
उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले स्थापना गरेको गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार हरेक बर्ष माघ १ गते वितरण गर्दै आएको छ । महासंघले सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसियाले नगद ५० हजार राशीको उक्त पुरस्कार र कदरपत्र सहित पासवानलाई सम्मान गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, स्व. गिरीका सुपुत्र गिरिश गिरीले पासवानलाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । वीरगन्जबाट प्रकाशित राष्ट्रिय सहारा दैनिकका कार्यकारी सम्पादक, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष अशोक तिवारी, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरीक्षक कोमलविक्रम शनह, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य लगायतको उपस्थिति थियो।
स्व.गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, तुलसी भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।