वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले परिवर्तनलाई संस्थागत हुने गरी काम गर्न सञ्चारक्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । पर्सेली सञ्चारकर्मीहरुसंग बिहीबार गरिएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूषालले सुशासन, समृद्धि र सामाजिक न्यायको उद्देश्य भित्र रहेर सार्वजनिक सेवा प्रवाह गर्ने बताए ।
उनले अहिलेको शासन प्रणाली नै समूहिक प्रयासबाट हुने भएकोले सञ्चारक्षेत्र, निजीक्षेत्र, प्रशासन र सुरक्षा निकायको सहयोग, समन्वय र सहकार्यले मात्रै जनमैत्री शासन स्थापित गर्न सकिने बताए । आमनागरिकको सहज पहुँचमा प्रशासन हुनुपर्ने मान्यताका साथ सरकारको स्वीकृत नीति र कार्यक्रम अनुसार सामाजिक लाभको दृष्टिले सबैले हेर्नुपर्ने धारणा व्यक्त गरे ।
जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने लक्ष्य लिइएको जनाउँदै राज्यको चरित्र जनताले थाहा पाउनुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयको मुख्य भूमिका नागरिकता वितरण नै रहेको र राज्यमा बसोवास गर्ने सबै नागरिकले सहजरुपमा नागरिकता पाउनुपर्ने बताए । नागरिकता वितरणको प्रकृयामा आवश्यक सिफारिसमा वडा अध्यक्षहरुले पूर्वाग्रह राखे कानूनी कारवाही गर्ने बताए ।
तराइका जिल्लाहरुमा वडाअध्यक्षहरुले आफूलाई भोट नदिएकाहरुको नागरिकता सिफारिस नगर्ने गरेको गुनासो गर्ने गरेको सुनिएको उल्लेख गर्दै निर्वाचित जनप्रतिनिधि भईसकेपछि जनताको प्रतिनिधि हुने भएकोले कसैलाई पूर्वाग्रह राखे कानून अनुसार प्रकृया अगाडि बढाउने कार्यविधि समेत आफ्नो कार्यकालमा तयार गरिने बताए ।
२७ बर्षको निजामति सेवामा उद्योग मन्त्रालयमा रहेर काम गर्दा पर्सामा आएर काम गरेको अनुभव रहेको बताउदै भुषालले पहिले भन्दा अहिले पर्सा जिल्लामा धेरै परिवर्तन पाएको बताए ।