वीरगन्ज । हनिमुन हरेक नवदम्पतीका लागि एक उत्सव हो । विवाहपछि नवदम्पती घुम्न निस्कन्छन् । । यस्तो ठाउँ, जहाँ उनीहरू दुवैले एक–अर्कासँग समय बिताउन पाउँछन् । यही समय उनीहरू खुलेर आ–आफ्ना रुचि, चाहना एवं भावना साट्न सक्छन् । नयाँ जीवनको योजना बनाउन सक्छन् । यो अवस्मरणीय पल हो । त्यसैले हनिमुनलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । समाजशास्त्री पुष्प राई भन्छन्, ‘हनिमुन पश्चिमी संस्कृतिको नक्कल हो । नयाँ पुस्ताले यसको अनुकरण गरे पनि हनिमुनले नवदम्पतीहरूलाई रिफ्रेस गराउँछ ।’
पछिल्लो समय विवाहपछि हनिमुन जाने ट्रेन्ड बढेको छ । काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङ आदि गन्तव्य हनिमुनका लागि प्रख्यात छन् । देशभित्र मात्र होइन विदेशमा पनि हनिमुन मनाउन जाने टेन्ड्र बढेको छ । सिम्रिक होलिडेका टुर अपरेटर कृतिका श्रेष्ठका अनुसार पछिल्लो समय हनिमुन मनाउन जाने टेन्ड्र बढ्दो छ । उनी भन्छिन्, ‘पहिलेको तुलनामा अहिले हनिमुन जानेको संख्या बढी छ । अहिले नेपालमा भन्दा विदेशमा हनिमुन मनाउन जाने जोडीहरू धेरै छन् ।’ नेपालमा घुम्ने पैसाले विदेश घुम्न जान पाउने भएकाले उनीहरूले विदेश नै रोज्ने कृतिकाको भनाइ छ ।
माल्दिभ्स
टापु नै टापुले बनेको माल्दिभ्स हनिमुनका लागि प्रख्यात गन्तव्य हो । माल्दिभ्स घुमघामका लागि सबै मौसममा उपयुक्त मानिन्छ । माल्दिभ्सको विशेषता भनेको प्राचीन समुद्रतट, पानीमाथि बनेको संरचना, सफा पानी, नीलो र खुलेको आकाश हुन् । यहाँ विवाहित जोडीले एक–अर्कास“ग गुणस्तरीय समय बिताउन सक्छन् ।
माल्दिभ्स घुम्न कति खर्च ?
माल्दिभ्स घुम्नका लागि ३ दिन ४ रातको ९८ हजारदेखि १ लाख २४ हजार रुपैँयासम्म खर्च लाग्छ । यो घुम्न, खान, बस्न र हवाई यात्राको खर्च हो ।
थाइल्यान्ड
थाइल्यान्ड नेपालीहरूको प्रमुख रोजाइमा पर्छ । कम खर्चमै विदेश घुम्न जानेहरूका लागि थाइल्यान्ड उपयुक्त हुन्छ । थाइल्यान्डको राजधानी बैंकक, पटाय, फुकेट चर्चित गन्तव्य हुन् । समुद्रीतट, जलविहार र रात्रिजीवन थाइल्यान्डका आकर्षण हुन् । यहाँ विश्वकै सबैभन्दा ठूलो खुला चिडियाघर देख्न सकिन्छ । पटायमा वाटर स्पोर्टस्देखि भूतको सुरुङमा रमाइलो गर्न सकिन्छ । यसैगरी फुकेट द्वीपमा रोचक बजार, मन्दिर र प्राचीन सभ्यताको धरोहर अवलोकन गर्न सकिन्छ ।
थाइल्यान्ड घुम्न कति खर्च ?
टुर प्याकेजअन्तर्गत थाइल्यान्ड घुम्नका लागि ७६ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो ४ रात ५ दिन बस्न र घुम्नका लागि आवश्यक खर्च हो । टुर प्याकेजमा बैंकक र पटाय घुमाइन्छ । यसमा बे्रकफास्ट, आउने–जाने हवाई टिकट, थ्री स्टार होटलमा बस्ने व्यवस्था र एयरपोर्टबाट लाने–ल्याउने गरिन्छ ।