वीरगन्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडीले अवसर नपाएपनि पाकिस्तान सुपर लिग (पीएसएल) मा भने नेपालका १० खेलाडीले अवसर पाएका छन् । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको नाम परेन ।
आईपीएल अक्सनमा नपरेपनि पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा भने नेपालका १० खेलाडी समावेश भएका छन् । पाकिस्तान सुपर लिगले सोमबार नै सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क्रिकेट टोलीका १० खेलाडी समावेश भएका हुन् ।
पीएसएलमा समावेश भएका खेलाडीहरुमा सन्दीप लामिछाने, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी छन् । त्यसमध्ये सन्दीप प्लाटिनम र गुल्सन गोल्ड क्याटेगोरीको ड्राफ्टमा छन् । यस्तै बाँकी ८ खेलाडी सिल्भर क्याटेगोरीमा छन् ।
आगामी सिजनको पीएसएलको लागि ड्राप्ट आउने बुधबार डिसेम्बर १३ मा हुँदैछ । पीएसएल २०२४ फेब्रुअरी १३ देखि मार्च १८ सम्म हुनेछ । प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडी कुनै टिममा अनुबन्ध भएमा १ लाख ४८ हजार अमेरिकी डलर पाउनेछन् । यस्तै गोल्ड क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले ३७ हजार ४३५ डलर तथा सिल्भर क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १८ हजार अमेरिकी डलर पाउनेछन् ।
प्लाटिनम क्याटेगोरीमा सन्दीप लामिछाने , गोल्ड क्याटेगोरीमा गुल्सन झा, सिल्भर क्याटेगोरीमा आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सोमपाल कामी परेका छन् ।
पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेलेकाले नेपालबाट केही खेलाडी अक्सनमा पर्ने आशा थियो । तर कुनै पनि खेलाडी छनोटमा परेनन् । यस पटक एसोसिएट राष्ट्रबाट जम्मा दुई खेलाडी मात्र अक्सनको सूचीमा छन् । जसमा नामिबियाका डेविड वाइजा र नेदरल्याण्ड्सका पउल भान मिकेरेन छन् ।