काठमाडौं। आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना गर्ने ‘तेस्रो लगानी सम्मेलन’ को तयारीमा सरकार जुटेको छ ।
लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाएको छ। उक्त निर्देशक समितिको पहिलो बैठकले गरेको निर्णय अनुसार लगानी सम्मेलनका लागि तयारी थालिएको जनाएको छ।
यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने र लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिने अर्थमन्त्री डा. प्रकाशसरण महतले जानकारी दिनुभयो । मन्त्री महतले लगानी सम्मेलन सकिएपछि निरन्तर लगानी भित्र्याउने र बढाउने योजनामा काम गर्ने बताउनुभयो।
ठूला, मझौला तथा साना उधोगमा लगानी ल्याउनका लागि सहजीकरण गर्दै सहज अवस्था निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो । लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ।
तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ। लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने भएको छ।
लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा महतले निर्देशन दिनुभयो । लगानी सम्मेलनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रचार गर्ने र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने सरकारको अपेक्षा छ। सरकारले यसअघि २०७३ फागुन र २०७५ चैतमा लगानी सम्मेलन गरेको थियो। तर, सम्मेलन पश्चात पनि अपेक्षाकृत लगानी भने आउन सकेको छैन ।