वीरगन्ज । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले नवप्रवेशी टोली वीरगञ्ज युनाइटेडलाई हराएको छ । हिजो त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले वीरगञ्जलाई २–१ गोलले हरायो ।
धनगढीका लागि फोडे फोफाना र अहमद आजादीले गोल गरे भने वीरगञ्जका हान्स क्वोफीले एक गोल फर्काए । १–१ गोलको बराबरीमा रहेको खेलको ९० मिनेटमा गोल गरेपछि धनगढी विजयी भयो । धनगढी गएको संस्करणको उपविजेता हो ।
गएको शुक्रवारदेखि शुरु भएको एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । एनएसएलको दोस्रो संस्करणमा नौ वटा टोली सहभागी छन् ।
यस्तै पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेस प्रदेशलाई हराएको छ । हिजो भएको खेलमा पुलिसले मधेसलाई ५७ रनले हरायो ।
पुलिसले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको मधेस १८ ओभर २ बलमा १ सय १८ रनमा अल आउट भयो । यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनायो ।