पोखरा । कास्कीस्थित महत्त्वाकांक्षी रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना चालू आर्थिक बर्षभित्रै सम्पन्न गर्न उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्ता श्रेष्ठले निर्देशन दिएका छन् ।
परियोजनाको हालसम्म कुल अनुमानित लागतको ६५.४८ प्रतिशत (रू. २ अर्ब ९६ करोड) बजेट खर्च भइसकेको छ। कुल ४ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनालाई चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिइएको छ।
आयोजनाको भौतिक तथा वित्तीय प्रगतिको स्थलगत अनुगमन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पर्या–पर्यटन र स्थानीय अर्थतन्त्रका लागि कोशेढुङ्गा मानिएको यो परियोजना समयमै सम्पन्न गर्न सरकारले आवश्यक बजेट तथा नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठले ठेकेदार तथा प्राविधिक कर्मचारीहरूलाई द्रुत गतिमा काम गर्न निर्देशन दिँदै रुपातालको विकास मोडल सफल भएमा देशका अन्य प्राकृतिक तालहरूमा पनि यही ढाँचा अपनाइने बताए ।
आयोजना प्रमुख कृष्णप्रसाद डुम्राकोटीका अनुसार सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ६८ करोड ९४ लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरी निर्माण कार्यलाई तीव्रता दिएको छ।
आयोजनाअन्तर्गत बाँध तथा स्पिलवे निर्माणमा २८ करोड ७९ लाख रुपैयाँ ठेक्का सम्झौता भएकोमा हालसम्म १६ करोड ४७ लाख रुपैयाँ खर्च भइसकेको छ। स्पिलवे कम ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
गाद व्यवस्थापन (ड्रेजिङ) मा ३९ करोड ६७ लाख रुपैयाँको लागतमा भइरहेको माटो उत्खननको भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ। हालसम्म ५ लाख २ हजार ४४० घनमिटरभन्दा बढी माटो व्यवस्थापन भइसकेको छ।
त्यस्तै सडक तथा किनार संरचनामा तालको बायाँ किनारमा ७.९ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ। जग्गा अधिग्रहण र मुआब्जामा डीपीआर अनुसार प्रस्ताव गरिएको १ हजार ४७२ रोपनीमध्ये तत्कालीन आवश्यकताको १ हजार २०० रोपनी जग्गामध्ये हालसम्म १ हजार ३४ कित्ता (१ हजार १८ रोपनी) अधिग्रहण सम्पन्न भइसकेको छ।
२३ वटा घरटहरा व्यवस्थापनसहित जग्गा अधिग्रहण र मुआब्जा वितरणमा करिब १ अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ। वातावरण तथा जलाधारतर्फ परियोजनाभित्र ३ वटा सिल्ट ट्रयाप, १२ वटा जलाधार संरक्षण पोखरी र १०६ वटा बेड बार तथा चेक ड्यामको निर्माण पूर्ण रूपमा सकिएको छ।
६ किलोमिटर तटबन्ध निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। कुल ५६९ वटा रुख कटान गर्नुपर्नेमा हालसम्म २२२ वटा कटान भइसकेका छन् र यसका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च भइसकेको छ।
यद्यपि, इको फुटट्रेल निर्माणमा भने वनसम्बन्धी कानुनी प्रक्रिया र रुख कटानको प्रक्रियागत ढिलाइले केही चुनौती सिर्जना गरेको छ। पोखरा महानगरपालिकाका वडा नं. ३१, ३२ र रुपा गाउँपालिकालाई समेटेको यस परियोजनाले जलाधार व्यवस्थापन, बाढी-भूक्षय नियन्त्रणका साथै कृत्रिम टापु, मन्दिर र पदमार्ग निर्माण गरी पर्यटकीय आम्दानी बढाउने लक्ष्य राखेको छ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले आफ्नो कार्यक्षेत्र रहेका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा र मनाङमध्ये आगामी दिनमा तनहुँको चुँदी खोला नियन्त्रण र मनाङका तालबजार तथा चामे बजार संरक्षणका आयोजनाहरूसमेत अघि बढाउने तयारी गरेको छ।



