वीरगंज । वीरगंज महानगरपालिकाले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी ऐन, २०८३’ र त्यसको कार्यान्वयनका लागि नियमावली ल्याएको छ।
महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको हो ।
आर्थिक नगरीका रूपमा चिनिँदै आएको उल्लेख गर्दै महानगर प्रमुख राजेशमान सिंहले यहाँ ठूला उद्योग तथा कलकारखानासँगै ठूलो संख्यामा घरेलु र साना उद्योगसमेत सञ्चालनमा रहेकाले तिनलाई थप व्यवस्थित र कानुनी दायरामा ल्याउन ऐन आवश्यक भएको बताए ।
उनका अनुसार उद्योगलाई नियमन गर्ने नाममा असहज बनाउने नभई उद्योगीलाई नै कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गर्दै उनीहरूको व्यवसायलाई थप बलियो बनाउने उद्देश्यले नयाँ व्यवस्था ल्याइएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस व्यवस्थाले उद्योग दर्तादेखि नवीकरण, अनुगमन, खारेजी र प्रवर्द्धनसम्मका प्रक्रियालाई कानुनी दायरामा ल्याएको छ ।
नयाँ व्यवस्थाअनुसार महानगरभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । आवश्यक कागजातसहित परेको निवेदन जाँचबुझ गर्दा प्रक्रिया पूरा भएको देखिए १५ दिनभित्र उद्योग दर्ता गरी प्रमाणपत्र दिनुपर्ने व्यवस्था छ ।
यसअघि नै प्रचलित कानुनअनुसार दर्ता भई सञ्चालनमा रहेका उद्योगसमेत ऐन लागू भएको छ महिनाभित्र महानगरमा अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।
उद्योग प्रवर्द्धनका लागि ऐनले विभिन्न कर छुट तथा सहुलियतको व्यवस्था गरेको छ । सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योगलाई तोकिएको क्षेत्रमा स्थापना भए पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिने व्यवस्था छ ।
महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत र व्यवसाय करमा तीन वर्षसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
घरेलु तथा साना उद्योगलाई पनि व्यवसाय करमा छुट दिने प्रावधान ऐनमा समेटिएको छ । त्यस्तै, सहकारी, लघु, घरेलु तथा साना उद्योगलाई तोकिएको मापदण्डका आधारमा बीउ पुँजी अनुदान उपलब्ध गराउन सकिनेछ ।
उद्योग स्थापना गर्न जग्गा खरिदमा कठिनाइ भएमा महानगरले आवश्यक समन्वय र सहजीकरण गर्ने तथा राष्ट्रिय वा स्थानीय प्राथमिकताका उद्योगलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउने प्रक्रियामा सहजीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
उद्योग प्रवर्द्धनका लागि महानगर प्रमुखको अध्यक्षतामा स्थानीय उद्योग प्रवर्द्धन समिति गठन गर्ने, एकद्वार सेवा केन्द्र स्थापना गर्ने तथा उद्योग विकास, प्रविधि विस्तार, लगानी संरक्षण र रुग्ण उद्योग पुनःस्थापनाका लागि विभिन्न कोष स्थापना गर्न सकिने व्यवस्था ऐनमा छ ।
त्यस्तै, सार्वजनिक–निजी साझेदारीमा औद्योगिक करिडोर, औद्योगिक ग्राम र औद्योगिक क्लस्टर घोषणा गरी थप सुविधा उपलब्ध गराउन सकिनेछ ।
ऐनले उद्योग दर्ता गरेर मात्रै पुग्ने नभई वातावरणीय मापदण्ड पालना र निर्धारित सर्तअनुसार सञ्चालन गर्नुपर्ने जिम्मेवारी पनि स्पष्ट गरेको छ ।
प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन आवश्यक पर्ने उद्योगले त्यसको स्वीकृति लिएपछि मात्रै स्थापना तथा सञ्चालन गर्नुपर्नेछ । महानगरले दर्ता सर्त र कानुनी प्रावधानको नियमित अनुगमन गर्नेछ ।
महानगर प्रमुख सिंहले नयाँ कानुनी व्यवस्थाले उद्योगीलाई थप व्यवस्थित र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उद्योगीलाई कानुनी दायरामा ल्याउनुको उद्देश्य उनीहरूलाई निरुत्साहित गर्नु नभई सुविधा, सहुलियत र आवश्यक सहजीकरणमार्फत स्थानीय उद्योगको विकास तथा विस्तार गर्नु रहेको पनि उनले स्पष्ट पारेका छन् ।



