सङ्घीयताको जननी मानिएको मधेस प्रदेश पुनः एकपटक गम्भीर राजनीतिक अस्थिरता र संवैधानिक जटिलताको मोडमा उभिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा जसपा नेपालका सरोज यादव मुख्यमन्त्री नियुक्त भएसँगै मधेसको राजनीति थप पेचिलो बनेको छ।
संविधान अनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र प्रदेशसभाबाट उपधारा (४) बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ। यदि मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको उपधारा (५) बमोजिम प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत सिद्ध गरेर मुख्यमन्त्री दाबी गर्ने ढोका खुल्नेछ। तर, उपधारा (५) बमोजिम बनेको मुख्यमन्त्रीले पनि उपधारा (६) अनुसार विश्वासको मत पाउन नसकेमा वा मुख्यमन्त्री नियुक्त नै हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचनको घोषणा गर्ने संवैधानिक व्यवस्था छ। यस्तो संवेदनशील परिस्थितिमा मुख्यमन्त्री यादवलाई बहुमत जुटाउन निकै कसरत गर्नुपर्ने देखिएको छ।
मधेस प्रदेशमा भएका शृङ्खलाबद्ध सत्ता समीकरण र अस्थिरताको मुख्य कारकका रूपमा नेकपा एमालेलाई हेरिने गरिएको छ। मधेस आन्दोलनका क्रममा मधेसी जनता र मधेसवादी दलहरूप्रति कठोर रूपमा प्रस्तुत हुँदै आएको एमाले २०७९ को निर्वाचनमा मधेस प्रदेशसभामा ठूलो दलका रूपमा स्थापित भयो।
ठूलो दलको हैसियत पाएपछि एमालेले गरेका निरन्तरका राजनीतिक चालबाजीका कारण मधेसमा सरकारहरू निरन्तर ढल्ने र बन्ने शृङ्खला चलिरह्यो। पछिल्लो समय पनि जसपा नेपालको नेतृत्वमा सरकार बनाउने सहमति गर्दै कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमालेले पुनः अस्थिरता निम्त्याएको थियो।
अझ रोचक र विश्लेषणात्मक पाटो त के छ भने, विगतमा एमालेकै चलखेलका कारण प्रतिपक्षमा पुगेको जसपा नेपाल अहिले पुनः एमालेकै जोडबल र चलखेलका कारण सरकारको नेतृत्वमा पुगेको छ। मुद्दाका हिसाबले सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दलहरूसँग जसपा नेपालको विचार मिल्छ। साथै, अग्रगामी मोर्चामा सहयात्रा गरिरहेको जनमत पार्टीलाई पनि छोड्न नहुने बाध्यात्मक परिस्थिति जसपा नेपालसामु छ।
मुख्यमन्त्री यादवको नियुक्तिपछि जसपा नेपालभित्र पुन: विभाजन हुने अड्कलबाजीहरू चले पनि तत्कालका लागि त्यो टरेको छ। तर, मुख्यमन्त्रीको सपथ ग्रहण समारोहमा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र अग्रगामी मोर्चामा रहेको जनमत पार्टीका एक सांसद बाहेक अन्य शीर्ष नेताहरूको अनुपस्थितिले सत्ता गठबन्धनभित्र र दलहरूबीच गम्भीर अविश्वास रहेको सङ्केत गरेको छ।
तर, विचार र मुद्दा मिले पनि संसदीय अंकगणितका कारण जसपा नेपाल ठूलै दलहरूसँग हात मिलाउन बाध्य देखिन्छ। मधेस प्रदेशसभामा अंकगणितलाई हेर्दा:
-
विकल्प १ (एमालेसँगको समीकरण): जसपा नेपाल (२७) + एमाले (२४) = ५१ सिट। अन्य साना दुई दललाई मिलाउँदा सहजै बहुमत (५३) पुग्छ।
-
विकल्प २ (कांग्रेससँगको समीकरण): जसपा नेपाल (२७) + नेपाली कांग्रेस (२२) = ४९ सिट। यहाँ पनि साना दल वा ‘फ्लोर क्रस’ गराएर बहुमत पु-याउनुपर्ने मुख्यमन्त्रीलाई चुनौती छ ।
-
विकल्प ३ (वाम-मोर्चा समीकरण): जसपा नेपाल (२७) + नेकपा (१५) + जनमत (१२) = ५४ सिट। यो समीकरणबाट सहजै बहुमत पुग्ने भए पनि जनमत पार्टीसँगको साझेदारीलाई जसपा नेपालले सहज रूपमा लिन सकिरहेको छैन।
यसरी, सैद्धान्तिक रूपमा एमालेले सङ्घीयता र मधेसी मुद्दामा पटक-पटक प्रहार गरे पनि र एमालेको चालबाजीप्रति जसपा नेपाल सशङ्कित रहे तापनि सत्ता समीकरणको सहज अंकगणितका लागि जसपा नेपाल एमालेसँगै नजिक हुन पुगेको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
सङ्घीयताको जग मानिएको मधेस प्रदेश पुनः एकपटक गम्भीर राजनीतिक अस्थिरता र संवैधानिक जटिलताको चक्रव्युहमा फसेको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका जसपा नेपालका सरोज यादवसामु ३० दिनभित्र विश्वासको मत जुटाउनु ठूलो पहाड बनेको छ। विगतमा प्रदेश सरकारहरू ढाल्न र बनाउन मुख्य भूमिका खेलेको नेकपा एमालेकै चालबाजीका कारण पुनः सत्तामा पुगेको जसपा नेपाल, विचार र मुद्दा नमिल्दा-नमिल्दै पनि अंकगणितको बाध्यात्मक सामिप्यतामा उभिएको छ। सत्ताको जोडघटाउ र दलहरूको गैरजिम्मेवार चलखेल कायम रहे विश्वासको मत असफल भई संविधानको उपधारा (५) र (६) हुँदै प्रदेशसभा विघटनतर्फ धकेलिने र सङ्घीयताको जननी मधेस नै यसको समाप्तीको कारक बन्ने जोखिम बढेको छ।



