काठमाडौँ । बाराको फेटा गाउँपालिकामा कार्यरत रोजगार संयोजक ओम प्रकाश गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजक पद हत्याउन उनले झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको खुल्न आएको छ।
प्रतिवादी गिरीले पद नियुक्ति लिनका लागि आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली रहेको जानीजानी सम्बन्धित निकायमा पेस गरी राष्ट्रसेवकको महत्वपूर्ण ओहदा प्राप्त गरेको र सोहीमार्फत लाभ लिई भ्रष्टाचारजन्य कसुर गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।
उक्त कसुरमा अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै सोही ऐनको दफा १६ को उपदफा (१) अनुसार कैद र जरिवानाको सजाय मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ मा सरकारी वा सार्वजनिक पदमा नियुक्ति पाउन वा लाभ लिने उद्देश्यले झुट्टा वा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने व्यक्तिका लागि कडा कानुनी सजायको व्यवस्था गरिएको छ।
झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेमा हुने सजाय
ऐनको दफा १६ को उपदफा (१) अनुसार यदि कुनै व्यक्तिले नेपाल सरकार वा सार्वजनिक संस्थाको कुनै पदमा नियुक्ति पाउन वा राख्नका लागि झुट्टा, बनावटी वा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेमा वा सोही आधारमा सार्वजनिक पद प्राप्त गरी राष्ट्रसेवकको ओहदा ओगटेमा त्यसलाई भ्रष्टाचार मानिन्छ।
यसरी कसुर ठहर भएमा कसुरको मात्रा हेरी ६ महिनादेखि १ वर्षसम्म कैद सजाय हुनेछ। साथै १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ। त्यसैगरी नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद प्राप्त गरेको पुष्टि भएमा सम्बन्धित व्यक्ति स्वतः पदमुक्त हुनेछन्।
नक्कली प्रमाणपत्रका आधारमा लिइएको सेवा, सुविधा, पारिश्रमिक तथा पदको दुरुपयोगबाट प्राप्त अन्य लाभहरू समेत कानुनबमोजिम जफत वा असुलउपर गरिनेछ।



