वीरगञ्ज । वीरगन्जका दुई पत्रकारले छुट्टाछुट्टै छठ गीत सार्वजनिक गरेका छन् । आस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको अवसरमा भोजपुरी सांगीतिक क्षेत्रका सिर्जनाहरूले दर्शक तथा श्रोताको विशेष माया पाइरहेका बेला पत्रकार तथा गायक रञ्जित पाण्डे र पत्रकार मनोज पटेलले नयाँ छठ गीत बजारमा ल्याएका हुन् ।
गायक रञ्जित पाण्डेका दुई भोजपुरी गीत ‘दस दिन के दशहरा’ र ‘गोदिया भर दी हमार’ ले दशैं तथा छठ पर्वमा दर्शक तथा श्रोतामाझ राम्रो लोकप्रियता हासिल गरिरहेका छन्।
दशैंको अवसरमा सार्वजनिक गरिएको ‘दस दिन के दशहरा’ ले युट्युबमा करिब १८ हजार भ्युज प्राप्त गर्नुका साथै टिकटकमा करिब २० हजार रिल्स तथा भिडियो बन्न सफल भएका छन्।
उक्त गीतको सफलतापछि गायक पाण्डेले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रञ्जित पाण्डे अफिसियल’ बाट छठ गीत ‘गोदिया भर दी हमार’ सार्वजनिक गरेका छन्।
पारम्परिक तथा मौलिक भोजपुरी संगीत शैलीमा तयार पारिएको यस गीतले छठको सांस्कृतिक, धार्मिक र पारिवारिक भावनालाई समेटेको छ। हालसम्म यस गीतले युट्युबमा करिब १५ हजार भ्युज र टिकटकमा करिब दुई हजार रिल्स बटुल्दै दर्शकको निरन्तर साथ पाइरहेको छ।
यसैगरी, छठ पर्वकै पावन अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ सोमबार साँझ औपचारिक रूपमा सार्वजनिक गरेको छ।
छठको धार्मिक तथा सामाजिक महिमालाई उजागर गर्दै तयार पारिएको यस गीतको सम्पूर्ण छायाङ्कन वीरगञ्ज तथा आसपासका क्षेत्रहरूमा सम्पन्न भइसकेको छ।
भिडियो निर्देशक सन्तोष साहका अनुसार छठको मौलिक परम्परा, पूजा विधिको पवित्रता र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई दिइने अर्घ्यको आध्यात्मिक भावलाई जीवन्त रूपमा दृश्यमा उतारिएको छ।
गीतकार तथा गायक पत्रकार मनोज पटेलले अघिल्लो छठ गीत ‘हाली हाली उग हो सुरुज देव’ ले पाएको व्यापक प्रशंसापछि यस वर्ष नयाँ कोसेली ल्याउन लागिएको जानकारी दिए।
रोजगारीका लागि घरबाहिर रहेका श्रीमान्लाई समयमै घर फर्केर छठ पूजामा सहभागी हुन आग्रह गरिएको भावनात्मक कथावस्तु यस गीतमा समेटिएको पटेलले बताए।
मनोज पटेल र किरण राजको स्वर रहेको यस गीतमा मनोज पटेलकै शब्द रचना र मुन्ना मुस्कानको संगीत रहेको छ। भिडियोमा बबिता पटेल, पत्रकार विनोद पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेलको अभिनय देख्न सकिनेछ।
कृष्णाको भिडियोग्राफी तथा जावेद हवारीको सम्पादन र मिक्सिङ रहेको उक्त गीत सोमबार साँझ नेपाल पोष्ट डेलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।



