म राजकिशोर पटेल । धोबिनी गाउँपालिका वडा नं. २ भिखमपुर, पर्सामा बस्छु । हाम्रो ठाउँ वीरगन्जबाट अलि टाढै छ । दुई वर्ष पहिले हामी तीन जना साथी मिलेर कृषि क्षेत्रमा काम गर्न एक करोड दश लाखको लगानीमा कम्पनी खोल्यौं जसमा सत्तरी लाख विभिन्न ठाउँबाट ऋण लिएर अनि बाँकी चालीस लाख हामी सबैले मिलेर लगानी गरेका छौं ।
यसमा हामी तीनै जनाको बराबर लगानी छ । हामी माछापालन, भैंसीपालन, दूध वितरण तथा तरकारी खेती गरिरहेका छौं । फर्मको दूध बिक्री गर्न वीरगन्जको राधेमाई र मुर्ली चौकमा दुईवटा बिक्री केन्द्र छन् । चालीसवटा भैंसी छन् फर्ममा । दुई बिगाहमा पोखरी र दुई कट्ठामा तरकारी खेती छ । दुईवटा गाडी छन् सामान बजार पुर्याउन । यस कम्पनीमा १४ जना कर्मचारी छन् । मासिक खर्च हाम्रो तीन लाखको हराहारीमा हुन्छ । सामान्य अवस्थामा सबै खर्च तथा ऋणको ब्याज ८५ हजारसमेत तिरेर प्रत्येक पार्टनरलाई २० देखि ३० हजार नाफा भइरहेको थियो । कृषिमा पनि केही गर्न सकिन्छ कि भन्ने लागेको थियो ।
लकडाउनको ४५ औं दिनमा आइपुग्दा हाम्रो अवस्था फेरिएको छ । दूधको खपतमा ७० प्रतिशत घटेको छ । लकडाउनले गर्दा वीरगन्जबाट धेरै मानिस घर फर्किएका छन् जसका कारण दूध बिक्री घटेको छ । एकातिर दूधको उत्पादन रोक्न सकिंदैन भने अर्कोतिर बिक्री छैन जसका कारण दूध फाट्ने र नोक्सानी हुने गरेको छ । हप्ता, दुई हप्ताका लागि मात्र बन्द भएको भए दूधको अरू केही प्रकार बनाएर राख्न सकिन्थ्यो तर यति लामो दिन भएकोले त्यसको पनि सम्भावना छैन । सामान्य अवस्था भएको भए हामीलाई फोनमा कुरा गर्ने पनि समय हुँदैनथ्यो । तरकारीको पनि सिजन र माछाको पनि सिजन दूधको त कुरै नगरौं । भ्याई नभ्याई हुन्थ्यो यति बेला । सरकारले कृषि क्षेत्रलाई (दूध व्यवसायलाई) अति आवश्यक क्षेत्रमा राखे पनि समयमा-समयमा प्रहरीको अवरोध रोकिएको छैन । भैंसीलाई खान दिने दाना पनि महँगो भएको छ । अहिले हामी पूरै घाटामा गइरहेका छौं । कर्मचारीलाई हटाएका छैनौं तर उनीहरूलाई पूरै तलब दिन पनि सकेका छैनौँ । यस्तो विपत्मा के हटाउनु भनेर नहटाएको तर अब अति भयो भने त के गर्न सकिन्छ होला र ! ऋणको ब्याज पनि अहिले तिरेका छैनौं ।
सामान्य अवस्थामा फागुनदेखि बिहेको लगन, धार्मिक कार्यक्रम जस्ता कारणले दूधको माग बढ्ने र उत्पादन घट्ने समय हो । गत वर्षको यो अनुभवका आधारमा यस वर्ष चैत महिनामा भैंसी थप्ने र मागअनुसार दूध बेच्ने तयारी हामीले गरेका थियौं तर लकडाउनले गर्दा त्यसो गर्न सकिएन । लकडाउन नभएको भए अहिले हामीलाई मागअनुसारको दूध पुर्याउन धौधौ पर्थ्यो किनभने अहिले मुस्लिम समुदायको रमजान पनि चलिरहको छ ।
लकडाउनले गर्दा हामीलाई ठूलै असर परेको छ । हामीले उत्साहित भएर कृषि क्षेत्रमा लगानी गरेका थियौं तर अब लगानी डुब्ने अवस्थामा छौं । अहिलेको सिजनमा कमाउन सकेनौं भने असारपछि यसै पनि दूधको कारोबारमा मन्दी लाग्छ । दूध बिक्री हुँदैन । लगानी मात्र हुने भयो हाम्रो भनेर साह्रै डर लागिरहन्छ आजकल । हाम्रो आम्दानीमा सुधार हुने छाँट छैन तर ब्याज र खर्च भने बढ्दैछ ।
माछा निकाल्ने समय भए पनि अहिले बिक्री नभएकाले निकालेको छैन । गाउँघरमा थोरै मात्र निकालेर बेचेका छौं । तरकारी पनि वीरगन्ज जान सकेको छैन । गाउँघरमा लाग्ने बजार बन्द भएकाले सस्तो भाउमा गाउँमा बेच्दैछौं । तीनवटै व्यवसायमध्ये कुनैबाट पनि आम्दानी नभएको अहिले लगभग दुई महिना हुन लागिसक्यो । नबिग्रियोस् भनेर सस्तोमा बेच्न खोजे पनि किन्ने कोही छैन । शहरबजारमा भारतीय तरकारी आएर महँगोमा बिक्री भएको समाचार सुनिरहेका छौं तर हाम्रो उत्पादनबारेमा कसैको चासो छैन । स्थानीय सरकारले पनि यसको बारेमा सोचेको छैन । प्रदेश सरकारले राहत दिन्छ रे भन्ने सुनेको छ तर कहिले कसरी र कति दिने भन्ने विषय अझै राम्रोसँग आएको छैन ।
लकडाउनले जसरी हाम्रो व्यवसायमा असर गरेको छ सरकारले सहयोग गरेन भने हामी धरापमा छौं । अहिलेको सिजनमा हामी डुब्यौं भने अरूको सहयोग बिना उठ्न सक्दैनौं । हामी जस्ता धेरै कृषि व्यवसायीको पीडा यस्तै छ अहिले ।
यो कथा राजकिशोर पटेलसंग गरीएको कुराकानीमा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।
Discussion about this post