वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको बुझाएको छ।
वीरगन्ज महानगरपालिका-१६ स्थित मितेरी पुल नजिकै खटिएकोDog Squad र Border Interaction Team (BIT) को संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बाराको विश्रामपुर गाउँपालिका-५ नर्कटवा निवासी १८ वर्षीय शेख सहजातलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा निजले कुरकुरेको प्याकेटभित्र कालो प्लास्टिकमा लुकाएर ल्याएको ४ ग्राम ८४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी मितेरी पुल नजिकैबाट खटिएको BIT टोलीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेका बाराकै बारागढी गाउँपालिका-३ का ४१ वर्षीय जमिल अख्तर मियाँलाई पनि पक्राउ गरेको छ।
निजले बोकेको झोला जाँच गर्दा लुकाइछिपाई लैजाँदै गरेको ४ किलो ८५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको हो।
ब्राउन सुगर र गाँजासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले जनाएको छ।

