वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा पर्सा जिल्लामा कुल १५४ वटा अपराधका मुद्दा दर्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लका अनुसार सबैभन्दा बढी सामाजिक अपराधतर्फ ७७ वटा मुद्दा रहेका छन्।
यसैगरी संगठित तथा आर्थिक अपराधका २४, ज्यान सम्बन्धी ११, आत्महत्याका ११, चोरीका ९, महिला तथा बालबालिका सम्बन्धी ९, सवारी ज्यानका ५ र अन्य ८ वटा मुद्दा दर्ता भएका छन्।
चालू मुद्दाका प्रक्रियाअन्तर्गत प्रहरीले एकै महिनामा १३८ जना प्रतिवादीलाई पक्राउ गरेको छ। यस्तै अदालतको फैसला कार्यान्वयनतर्फ पर्सा प्रहरीले तीव्र सक्रियता देखाएको छ।
विभिन्न मुद्दामा फरार रहेका १०७ जना प्रतिवादीलाई पक्राउ गरी २४ वर्ष ३ महिना २८ दिन कैद सजाय भुक्तानका लागि पठाइएको छ। साथै, उनीहरूबाट कुल १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना समेत असुल गरिएको छ।
लागूऔषधविरुद्धको कारबाही
लागूऔषध नियन्त्रणतर्फ भदौ महिनामा २७ वटा मुद्दा दर्ता गरी ४१ जनालाई पक्राउ गरिएको छ।
कारबाहीका क्रममा २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेश, ३ ग्राम ७४० मिलिग्राम अफिमका साथै ‘ONEREX’ र ‘NITAZESCEN’ जस्ता औषधीजन्य लागूऔषध बरामद गरिएको छ।
लागूऔषध नियन्त्रण तथा सुधार अभियान अन्तर्गत ५६ जनाको किट परीक्षण गर्दा १९ जनाले सेवन गरेको पुष्टि भएको र ७४ जनालाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
१ करोड ९ लाखको अवैध भन्सार छलीको सामान बरामद
सीमा क्षेत्रमा हुने अवैध भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा प्रहरीले १ करोड ९ लाख ९ हजार ५९५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी १ जनालाई पक्राउ गरेको छ।
यस्तै, प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ बालुवा, ढुङ्गा र गिट्टी बोकेका २३ वटा ट्याक्टर नियन्त्रणमा लिई १ लाख १५ हजार रुपैयाँ जरिवाना गराइएको छ भने अवैध वन पैदावारतर्फ ४१ क्युबिक फिट काठ र १० वटा साइकलसहित ४ जनालाई पक्राउ गरी २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व दाखिला गरिएको पर्सा प्रहरीले जनाएको छ।

