वीरगञ्ज । नेपाली कांग्रेस पर्साको वडा अधिवेशन आइतबार हुने भएको छ। १५औँ महाधिवेशनअन्तर्गत देशभर शनिबारदेखि वडा अधिवेशन सुरु भए पनि पर्सामा आन्तरिक तयारी र क्रियाशील सदस्यताको विवरण सार्वजनिक हुन नसक्दा तालिका सरेको हो।
केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार असोज ३ र ४ गते वडा अधिवेशन तोकिएको थियो। शनिबार वीरगञ्जस्थित पार्टी कार्यालयमा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले असोज ४ गते आइतबार पर्साका सबै ११२ वटै वडामा एकैपटक अधिवेशन गर्ने निर्णय गरेको छ।
बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, सुरेन्द्र चौधरी, रामरूप कुर्मी, अजयकुमार चौरसियाका साथै जिल्ला उपसभापति रामनारायण कुर्मी, महाधिवेशन प्रतिनिधिहरू र क्षेत्रीय सभापतिहरूको उपस्थिति थियो।
पर्सामा खटिएका केन्द्रीय प्रतिनिधि भरत राउतका अनुसार क्षेत्र नम्बर १, ३ र ४ को क्रियाशील सदस्यता नामावली प्राप्त भइसके पनि क्षेत्र नम्बर २ को विवरण अपूर्ण रहेकाले शनिबार अधिवेशन हुन नसकेको हो। नामावलीको विषय टुंग्याएर आइतबार एकैसाथ निर्वाचन गराउन लागिएको हो।
संशोधित कार्यतालिका अनुसार असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ। देशैभरका ६,७४३ वडाबाट चयन हुने नयाँ नेतृत्व र प्रतिनिधिहरूले महाधिवेशनको आधार तयार पार्नेछन्।

