वीरगंज । वीरगंजको घण्टाघरस्थित वीपी उद्यान पार्कभित्र रहेको पुरानो रेल्वे क्षेत्रमा पार्क निर्माण गर्न रेल्वे क्षेत्रमा सरसफाइ गरिएको छ । रेल्वे पार्क निर्माण अघि बढाउन वीपी उद्यानको रेल्वे क्षेत्रमा सरसफाइ गरिएको हो ।
विपी उद्यानलाई व्यवस्थित गर्दै रेल्वे पार्कका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ । सोही योजनाअनुसार पार्कभित्रको रेल्वे क्षेत्रमा पुनः सरसफाइ तथा व्यवस्थापनको काम सुरु गरिएको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा शनिबार रेल्वे क्षेत्रको सरसफाइ गरिएको हो । पार्कभित्र तीन महिनादेखि झाडी तथा फोहोरका कारण अस्तव्यस्त बनेको रेल्वे क्षेत्रमा सरसफाइ गरी आगामी दिनमा रेल्वे पार्क निर्माणको काम अघि बढाउने तयारी महानगरले गरेको छ ।
वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत पार्कभित्र रहेका विभिन्न संरचना तथा क्षेत्रलाई व्यवस्थित गर्ने काम हुँदै आएको थियो ।
त्यसमध्ये रेल्वे क्षेत्रलाई ऐतिहासिक महत्व झल्किने तथा वीरगंजको पहिचानसँग जोडिने गरी रेल्वे पार्कका रूपमा विकास गर्ने अवधारणा महानगर प्रमुख सिंहले अघि सारेका थिए ।
रेल्वे पार्क निर्माणको प्रारम्भिक तयारीस्वरूप क्षेत्रको सरसफाइ, झाडी हटाउने तथा खाली स्थानलाई व्यवस्थित गर्ने काम अघि बढाइएको थियो ।
कामले गति लिइरहेका बेला गत जेठ २५ गते महानगर प्रमुख सिंह निलम्बनमा परेपछि पार्कभित्रको सरसफाइ तथा व्यवस्थापनको काम रोकिएको थियो । काम रोकिएपछि रेल्वे क्षेत्र पुनः झाडी र फोहोरले ढाकिँदै गएर अस्तव्यस्त बनेको थियो ।
सिंहले सोमबार विशेष अदालतबाट सफाइ पाएसँगै महानगरका रोकिएका कामलाई पुनः गति दिन थालेका छन् । त्यसक्रममा वीरगंजको सरसफाइ अभियानलाई तीव्रता दिनुका साथै वीपी उद्यानको रोकिएको कामलाई समेत अघि बढाउन निर्देशन दिइएको महानगरले जनाएको छ ।
रेल्वे क्षेत्रको सरसफाइसँगै अब पार्कको उक्त भागलाई थप व्यवस्थित बनाउँदै रेल्वे पार्क निर्माणको योजनालाई अघि बढाउने तयारी गरिएको छ ।
पार्कलाई हरियाली, मनोरञ्जन तथा ऐतिहासिक पक्षसँग जोडेर विकास गर्ने महानगरको योजनाअनुसार क्रमशः अन्य कामसमेत अघि बढाइने जनाइएको छ ।
वीरगंजको मुख्य तथा व्यस्त क्षेत्र घण्टाघर नजिकै रहेको वीपी उद्यानलाई व्यवस्थित र आकर्षक सार्वजनिक पार्कका रूपमा विकास गर्ने महानगरको योजना छ ।
पार्कको व्यवस्थित विकाससँगै सर्वसाधारणका लागि खुला तथा मनोरञ्जनको उपयुक्त स्थलका रूपमा स्थापित गर्ने लक्ष्य महानगरले लिएको छ ।
रेल्वे क्षेत्रमा गरिएको सरसफाइ कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहोरा, महानगरपालिकाका सरसफाइ तथा हरियाली संयोजक जयप्रकाश खेतानलगायतको सहभागिता रहेको थियो ।

