जनकपुरधाम । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा मधेश प्रदेश सरकारको आयोजनामा शुक्रबार मधेश भवन परिसरमा एक बृहत् सरसफाइ अभियान सम्पन्न भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रारम्भ भई मधेश भवन परिसरस्थित विभिन्न मन्त्रालयसम्म सञ्चालित उक्त अभियानमा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सरसफाइ अभियान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरबाट सुरु भई मधेश भवनभित्र रहेका अन्य मन्त्रालयका परिसरहरूमा पुगेर सम्पन्न भएको थियो।
कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले बृहत् सरसफाइ अभियानमा सक्रिय सहभागिता जनाएकोमा चारवटै सुरक्षा निकायप्रति विशेष आभार व्यक्त गरे ।
उनले सरकारी कार्यालय तथा मन्त्रालय परिसरको स्वच्छता कायम गर्नु सम्पूर्ण कर्मचारीको समेत उत्तिकै दायित्व भएको उल्लेख गर्दै सरसफाइलाई अभियानको रूपमा मात्र नभई नियमित व्यवहारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, सशस्त्र प्रहरी बल मधेश प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले यस्ता सरसफाइ अभियानहरूलाई राष्ट्रिय दिवस वा विशेष अवसरमा मात्र सीमित नराखी निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
मधेश प्रदेश प्रहरी गण जनकपुरधामका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले संविधान दिवसको अवसरमा आयोजित यस सरसफाइ अभियानमा सहभागी हुन पाउनु गर्वको विषय भएको बताउँदै समाजमा स्वच्छता कायम गर्न नियमित सरसफाइ अनिवार्य आवश्यकता रहेको औँल्याए ।
यस बृहत् सरसफाइ अभियानमार्फत सहभागीहरूले स्वच्छ वातावरण, व्यवस्थित सार्वजनिक स्थल र जिम्मेवार नागरिक व्यवहार नै समुन्नत समाज निर्माणको आधार हुन् भन्ने महत्त्वपूर्ण सन्देश प्रवाह गरेका छन्।
संविधान दिवसको यस किसिमको रचनात्मक कार्यक्रमले मधेश भवन परिसरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनुका साथै नागरिकस्तरमा पनि स्वच्छताप्रतिको सचेतना फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
अभियानमा मधेश प्रदेश सरकारका गृहमन्त्री फकिरा महतो, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा, मुख्यमन्त्री कार्यालयका सचिवद्वय महेश बराल र पार्वती शर्मासहित विभिन्न मन्त्रालयका सचिवहरूको सक्रिय सहभागिता रहेको थियो।

