काठमाडौँ। रसुवामा आएको बाढीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध बनेको सडकलाई पुनः सञ्चालनमा ल्याउन मर्मत कार्यलाई तीव्र पारिएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउनका लागि भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा नयाँ ट्र्याक खोल्ने कार्य तीव्र गतिमा भइरहेको छ।
पहिरोका कारण ठप्प भएको यातायात सुचारु गराउन कार्यस्थलमा १० वटा ठूला मेसिन तथा उपकरणहरू परिचालन गरिएका छन्। मन्त्रालयका प्राविधिक तथा निर्माण टोलीले दैनिक १२ घण्टाभन्दा बढी समय अनवरत रूपमा काम गरिरहेका छन्।
सम्बन्धित निकाय र प्राविधिक टोलीले सकेसम्म चाँडो यातायात सञ्चालनमा ल्याउन निरन्तर प्रयास गरिरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त मार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई संयमित रहन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।

