वीरगन्ज । बितेको २४ घण्टामा सिरहा र ललितपुरमा भएका तीन वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ।
नेपाल प्रहरीका अनुसार सिरहाको सिरहा नगरपालिका–११ स्थित भलुबाही चोकमा आईतबार राति म.प्र.०१–००५ प ७१६६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको कलभर्टमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा सिरहा नगरपालिका–१० नरहेया निवासी ३५ वर्षीय राम सेवक कामति गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
त्यसैगरी सिरहाकै मिर्चैया नगरपालिका–१ स्थित महादेव चोकमा पूर्व(पश्चिम महेन्द्र राजमार्गमा म.प्र.०२–००१ त ३०१२ नम्बरको ट्र्याक्टरको ठक्करबाट अर्का एक जनाको ज्यान गएको छ।
ट्र्याक्टरको ठक्करबाट उदयपुरको कटारी नगरपालिका–५ तीनतले खैरेनी बस्ने २९ वर्षीय ुकालेु भनिने आसाराम मुसहर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि सरकारी अस्पताल मिर्चैया पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
उता ललितपुरको महालक्ष्मी नगरपालिका–१ झिंडोल बाहुनधारा चोकमा बा ९३ प १८०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा नुवाकोट घर भई हाल महालक्ष्मी–४ शीतलहाइट बस्ने २४ वर्षीय आशिष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाउनासाथ प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले घाइते सुनारलाई किष्ट अस्पताल पुर्याएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन (मापासे) गरेको पाइएको छ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल र त्यसमा पछाडि सवार दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको नेपाल प्रहरीले जनाएको छ।

