काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद बनेको रसुवाको आमाछोदिङमो गाउँपालिकाबाट एक सुत्केरी महिला र उनका नवजात शिशुको आपत्कालीन हवाई उद्धार गरिएको छ।
आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङले गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन्। प्रसूतिपछि आमा र शिशु दुवैमा गम्भीर स्वास्थ्य जटिलता देखिएको थियो।
गत भदौ १० गतेको बाढीका कारण सडकमार्ग पूरै अवरुद्ध भई तत्काल गाडीमार्फत अस्पताल पुर्याउन सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको छ।
सरकारले गत भदौमा स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार प्राकृतिक विपद्का कारण सडक अवरुद्ध भई दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी महिला र २४ घण्टाभित्रका नवजात शिशुको हवाई उद्धार गर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्थालाई टेकेर मन्त्रालयले उनीहरूको तत्काल उद्धार गरी जीवनरक्षा गरेको हो। यसैबीच महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले समयमै उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी एवम् स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

