काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बाढीप्रभावित रसुवा जिल्लाका पहाडी भू–भागमा आज भारी वर्षाको चेतावनी दिँदै आगामी तीन दिनसम्म देशभर मनसुन सक्रिय रहने जनाएको छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले मुलुकभर भीषण वर्षा, पहिरो र नदीमा जलस्तर बढ्न सक्ने जोखिम औँल्याउँदै विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् बिनु महर्जनका अनुसार आज देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
तराईतर्फ लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानका साथै अन्य प्रदेशमा पनि वर्षा हुनेछ। लुम्बिनीका तराई भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भाग र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ। पछिल्लो ६ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा धेरै ३४ मिलिमिटर वर्षा मापन गरिएको छ।
आगामी तीन दिनसम्म निरन्तर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो र नदी तटीय क्षेत्रमा बाढीको खतरा तीव्र बनेको भन्दै सर्वसाधारणलाई सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

