क्यानबेरा। अष्ट्रेलियाका गभर्नर जहाँले अष्ट्रेलियाका सम्पूर्ण नागरिकका तर्फबाट नेपालमा हालै आएको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।
गभर्नर जहाँले क्यानबेरास्थित नेपाली दूतावास पुगेर नेपालका कार्यवाहक राजदूत (चार्ज डि अफेयर्स) तारा गौतमसँग भेट गरी समवेदना प्रकट गरेकी हुन् ।
अष्ट्रेलियालीले आफ्ना प्रियजन गुमाएका, अझै पनि बेपत्ता आफन्तको खोजतलासमा रहेका, घरबार र जीविकोपार्जन गुमाएका प्रभावित परिवारहरूप्रति सहानुभूति व्यक्त गरेको छ।
साथै, यस कठिन परिस्थितिमा उद्धार र राहतमा खटिएका आपत्कालीन उद्धारकर्मी तथा स्वयंसेवकहरूको प्रयासको प्रशंसा गरेको छ। सङ्कटको समयमा प्रभावित अष्ट्रेलियाली नागरिकहरूको खोजी तथा सहयोगमा नेपाल सरकारले पुर्याएको तत्परताका लागि अष्ट्रेलियाले धन्यवाद ज्ञापन गरेको छ।
नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई जोड दिँदै अष्ट्रेलियामा बसोबास गर्ने ठूलो नेपाली समुदायले दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाएको उल्लेख गरिएको छ।
अष्ट्रेलियाले यस दुःखद् घडीमा नेपाली जनताको साथमा उभिनुका साथै पूर्ण सहानुभूति र सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ।

