वीरगन्ज । वीरगञ्जमा नवनिर्मित मानव सेवा आश्रमको भवन एक विशेष समारोहका बीच बुधबार समुद्घाटन तथा हस्तान्तरण गरिएको छ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित लक्ष्मणवा नौतनमा निर्माण गरिएको उक्त भवन लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन LCIF को एक लाख अमेरिकी डलर (करिब १ करोड ४० लाख रुपैयाँ) आर्थिक सहयोग र मानव सेवा आश्रमको २५ प्रतिशत समपूरक रकम गरी कुल लागतमा तयार पारिएको हो।
दुई तले यस नवनिर्मित भवनको दोस्रो तलामा १४–१४ वटा बेड क्षमताका दुईवटा ठूला हल रहेका छन्। भवन परिसरमा तीनवटा शौचालय, तीनवटा स्नानगृह र एउटा कुरुवा घरको समेत व्यवस्था गरिएको छ। यो पूर्वाधार निर्माणसँगै आश्रममा आश्रित व्यक्तिहरूको आवास, संरक्षण र पुनःस्थापनामा ठूलो राहत पुग्ने विश्वास छ ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले मानव सेवा आश्रमजस्ता सामाजिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउनु मानवीय सेवाप्रतिको ठूलो योगदान भएको बताए ।
त्यसैगरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णजंग थापाले राज्यको प्रयाससँगै सामाजिक संघसंस्था र नागरिकस्तरको सहयोगले यस्ता अभियानलाई थप मजबुत बनाउने धारणा राखे ।
कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक्ट गभर्नर राम बिहारी पाण्डेयले आगामी दिनमा पनि सामाजिक सेवाका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण दाता तथा लायन्स क्लबका पदाधिकारीहरूप्रति आभार प्रकट गरे ।
लायन्स क्लब अफ वीरगञ्ज मिलेनियमका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डका अध्यक्ष खुश्बु अग्रवालको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण देवेश मानवसेवाले गरेका थिए ।
समारोहमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

