काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उतारचढाव आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) साउन ३० गते प्राप्त नयाँ खरिद मूल्यसूची र निगम सञ्चालक समितिको निर्णयअनुसार भदौ १ गते सोमबार मध्यरातिदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखिएको हो।
निगमले आफ्ना डिपो तथा कार्यालयबाट १५ किलोमिटर क्षेत्रभित्रका लागि नयाँ बिक्री मूल्य सार्वजनिक गरेको छ । पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर रु. १९७।५० कायम गरेको छ ।
दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर रु. १९९।०० कायम गरेको छ । त्यसैगरी तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर रु. २००।०० कायम गरेको छ ।
मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर बनेको र इन्डियन आयल कर्पोरेशनको खरिद दर बमोजिम स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गर्न नसकिएको निगमले जनाएको छ।
उपभोक्तालाई राहत दिन खुद्रा बिक्री मूल्य नबढाइएकाले निगमलाई पाक्षिक १५ दिनमा करिब रु. ८१ करोड ३५ लाख घाटा हुने प्रक्षेपण गरिएको छ।

