काठमाडौँ। गएको २४ घण्टामा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार तीनसय ४५ सवारी चालकहरूमाथि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार बुधबार बिहान ६ः०० बजेसम्मको २४ घण्टाको अवधिमा कुल १ हजार ३ सय ४५ जना सवारी चालक कारबाहीमा परेका छन्।
प्राप्त विवरणअनुसार नियम विपरीत तीव्र गतिमा सवारी साधन चलाउने १४२ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, मापसे (मादक पदार्थ सेवन) गरेर सवारी चलाउने ५१ जना, लेन अनुशासन पालना नगर्ने ७० जना र निषेधित क्षेत्रमा हर्न बजाउने ४१ जना चालक पक्राउ तथा कारबाहीमा परेका छन्।
यसैगरी, सिसिटिभी निगरानीमार्फत ७१ जना, ट्राफिक लाईट (सवारी बत्ती) को नियम उल्लंघन गर्ने ५६ जना, सवारीको प्राविधिक अवस्था ठिक नभएका (सवारी अवस्था खराब) २१ जना र एकतर्फी सडक (वान–वे) उल्लंघन गरी सवारी चलाउने ३२ जना चालकलाई प्रहरीले कारबाही गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
यीबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ८६१ जना चालकलाई समेत नियन्त्रण र कारबाहीको दायरामा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा यातायात व्यवस्थापनलाई सहज बनाउन नियमित र आकस्मिक जाँचलाई अझ सशक्त बनाइएको प्रहरीको भनाइ छ।

