वीरगञ्ज । वीरगन्जमा निषेधाज्ञा जारी गरेको छ । सुन्सरीमा भएको घटनाको विरोधमा पर्सा जिल्लामा पनि प्रदर्शन सुरु भएपछि जिल्ला सुरक्षा समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका मुख्य चार किल्ला क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार बिहीबार साँझ ५ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको यस आदेश अनुसार वीरगन्ज महानगरको पूर्वमा प्रतिमा चौक, बसपार्क बाईपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञाको सीमा तोकिएको छ ।
प्रशासनले तोकिएको आदेशको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा समेत स्पष्ट पारेको छ।
तोकिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिसहरू जम्मा वा भेला हुन, सभा–जुलुस गर्न तथा कुनै पनि किसिमको प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ।

