वीरगन्ज । पर्सा प्रहरीले चोरी तथा डाँका मुद्दा र मुद्रा सम्बन्धी (खोटा चलन) मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले चोरी तथा डाँका कसूरमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका २५ वर्षीय आकाश यादवलाई पक्राउ गरेको छ।
पर्सा जिल्ला अदालतको फैसलापछि फरार रहेका वीरगञ्ज महानगरपालिका–३० का यादवलाई वीरगञ्ज–१९ बिन्दवासिनीस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।
त्यसैगरी, मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दाका फरार प्रतिवादी बाराको कलैया उपमहानगरपालिका–२७ का ४० वर्षीय भुअर भनिने रफिक मियाँ अन्सारी पनि पक्राउ परेका छन्।
पर्सा प्रहरी र प्रहरी वृत्त ठिमी भक्तपुरको संयुक्त टोलीले अन्सारीलाई भक्तपुरको मध्यपुर ठिमी–२ सानोठिमीबाट नियन्त्रणमा लिएर पर्सा ल्याईएको प्रहरी नायव उपरीक्षक मल्लले बताए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

