वीरगञ्ज। राजस्व चुहावट मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत जनकपुरको स्थायी इजलास वीरगञ्जबाट ३ महिना कैद र २८ लाख जरिवाना सजाय तोकिएका वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने ३९ वर्षीय अशोक जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले जैसवाललाई साउन ५ गते साँझ वीरगञ्ज–१६ स्थित इनर्वागाउँ सडकखण्डबाट नियन्त्रणमा लिएको हो।
उच्च अदालत जनकपुर स्थायी इजलास वीरगञ्जमा राजस्व चुहावटमा दोषी ठहर भई उनी फरार रहँदै आएका थिए।
पक्राउ परेका जैसवाललाई सजाय भुक्तानका लागि पर्सा जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए

