काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले तिनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने स्पष्ट पारे।
नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई सरकारले विशेष प्रोत्साहन गर्ने उनको भनाइ थियो।
उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने दृढता समेत उनले व्यक्त गरे ।
स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा विशेष जोड दिँदै आन्तरिक उद्योगलाई बलियो बनाउन सरकार लागिपर्ने प्रधानमन्त्री शाहले उल्लेख गरे ।

