काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक, सहकारी र बीमा क्षेत्रको पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याएका तीन जना आर्थिक पत्रकारहरूलाई नाफिज पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
यस वर्षको ‘भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ सेतोपाटी डटकमका सुरेश बिडारीलाई प्रदान गरिएको छ।
त्यस्तै, ‘भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार’बाट नेपाल प्रेस डटकमकी रिता राउत सम्मानित भएका छन् ।
यसैगरी, ‘नाफिज बीमा पत्रकारिता पुरस्कार’ बीमा पोष्ट डटकमकी उप–सम्पादक रिना खत्रीलाई प्रदान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पुरस्कृत पत्रकारहरूलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे ।
लामो समयदेखि आर्थिक पत्रकारिताका आ–आफ्नो विधामा उत्कृष्ट कार्य गर्दै आएका पत्रकारहरूलाई प्रोत्साहन स्वरूप नाफिजले यो पुरस्कार प्रदान गरेको हो।
राजधानीमा ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ।

