काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा सम्बन्धी कानुनलाई परिमार्जन, संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरोकारवालाहरूसँग बृहत् छलफल सुरु गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवज्यूको अध्यक्षतामा मन्त्रालयमा आयोजित एक विशेष बैठकमा यस विधेयकको मस्यौदामाथि गहन विमर्श भएको हो।
बैठकमा सहभागी युवा प्रतिनिधिहरूले नेपाली युवाहरूले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राज्यका हरेक संरचनामा युवाहरूको सम्मानजनक र अर्थपूर्ण उपस्थितिलाई नयाँ ऐनले सुनिश्चित गर्नुपर्ने सुझाव दिए।
साथै, विश्वका अन्य मुलुकहरूले युवा विकास, उद्यमशीलता र सशक्तिकरणका क्षेत्रमा अपनाएका सकारात्मक एवं उदाहरणीय कदमहरूलाई समेत नेपाली कानुनमा समेट्न उनीहरूले जोड दिएका थिए।
सरोकारवालाहरूको सुझावलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले युवाको क्षेत्रमा विश्वभर भइरहेका नवीन र सकारात्मक अभ्यासहरूलाई मध्यनजर गर्दै नयाँ ऐन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
‘विश्वले युवा जनशक्तिलाई कसरी उपयोग र परिचालन गरिरहेको छ, त्यसलाई हामी ध्यान दिनेछौँ,’ मन्त्री यादवले भने, ‘यसका साथै विगतमा नेपाल आफैँले युवा क्षेत्रमा हासिल गरेका सकारात्मक सिकाई र अनुभवहरूलाई समेत यस एकीकृत विधेयकमा समेटिनेछ।’
विधेयकलाई सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाउने उद्देश्यले आयोजित उक्त छलफलमा मन्त्रालयका सचिव दिपक काफ्ले, पूर्व सचिव रामप्रसाद थपलिया, मन्त्रालयका सह–सचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी, वैदेशिक रोजगार बोर्डका सह(सचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे तथा नेपाल कानुन आयोगका उप–सचिव जलेश्वर राम लगायतले विधेयकका कानुनी, व्यावहारिक तथा प्राज्ञिक पक्षमा आफ्ना धारणाहरू राखेका थिए ।
मन्त्रालयले प्राप्त सुझावहरूलाई समेटेर विधेयकलाई चाँडै अन्तिम रूप दिई अगाडि बढाउने जनाएको छ।
छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाल लगायत युवा क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, अधिकारकर्मी तथा विज्ञहरूको उपस्थिति रहेको थियो।

