वीरगञ्ज । संसदीय पहुँच तथा सार्वजनिक सुनुवाइ परियोजनाअन्तर्गत वीरगञ्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसको सभाहलमा युवाहरूका लागि एक विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेशसभा सचिवालयको आयोजना तथा पिपल प्रोमोट सेन्टर (पीपीसी) धनुषा र युएनडिपी/संसदीय सहयोग परियोजना (पीएसपी) को समन्वय एवं सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
‘युवाहरूमा संसदीय प्रणाली र लोकतन्त्रबारे अन्तरक्रिया, अभिमुखीकरण, छलफल तथा नमूना संसदीय अभ्यास’ विषयक सो कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री माननीय प्रमोद जैसवाल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जैसवालले युवा पुस्तालाई देशको संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासका बारेमा व्यावहारिक ज्ञान दिन यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
देशको भविष्य सम्हाल्ने युवाहरूले नीति निर्माण र संसद्को भूमिकाबारे सानै उमेरदेखि जानकारी राख्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा युएनडिपीको संसदीय सहयोग परियोजना पीएसपी अधिकारी विटुबाबु श्रीवास्तवले कार्यक्रमको अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरूलाई संसदीय कार्यप्रणाली, विधेयक निर्माण प्रक्रिया र लोकतन्त्रमा नागरिकको भूमिकाबारे विस्तृत प्रशिक्षण दिइएको थियो।
सो अवसरमा विद्यार्थीहरूलाई संसद्को प्रत्यक्ष अनुभूति गराउन ‘नमूना संसद्’ मार्फत सभामुख, प्रधानमन्त्री र सांसदको भूमिका लगायत समसामयिक विषयमा जानकारी गराईएको थियो ।

युवाहरुलाई संसदीय प्रणाली र लोकतन्त्र बारेमा जानकारी गराउने र संसमा पहुँच विस्तार गर्ने कार्यक्रमको उद्देश्य रहेको पिपुल प्रमोट सेन्टरका अध्यक्ष कमलेस मण्डलले जानकारी दिए ।
ठाकुर राम बहुमुखी क्याम्पसका प्रमुख डा. केशव कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देव नारायण थारु, प्रदेश सभा सदस्य वीनादेवी शर्मा, विमल खतिवडालगायत राजनीतिक, प्रशासनिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरू र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

