काठमाडौँ । नेपालमा अवैध लागुऔषधको द्रुत पहिचान र ओसारपसार नियन्त्रण गर्ने क्षमतालाई सुदृढ बनाउन संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरी र नेपाल भन्सार विभागलाई ४० थान लागुऔषध तथा ‘प्रिकर्सर’ परीक्षण किट प्रदान गरेको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरो (आईएनएल) ले लागुऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी) सँगको साझेदारीमा उक्त सामग्री हस्तान्तरण गरेको हो।
यी किटहरूले नेपाल भित्रिने र नेपाल हुँदै अन्य मुलुकतर्फ हुने लागुऔषधको तस्करी नियन्त्रणमा अग्रपङ्क्तिमा खटिने अधिकारीहरूलाई सहयोग पुर्याउने विश्वास गरिएको छ।
हस्तान्तरण गरिएको प्रत्येक किटबाट करिब २०० वटा लागुऔषधका नमूनाहरू तुरुन्तै परीक्षण गर्न सकिन्छ, जसले अग्रपङ्क्तिमा कार्यरत अधिकारीहरूलाई तथ्यमा आधारित र द्रुत अनुसन्धान प्रक्रिया अघि बढाउन व्यावहारिक औजार प्रदान गर्नेछ।
सामग्री हस्तान्तरणका अवसरमा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत ९चार्ज डी अफेयर्स० स्कट उर्बमले अन्तरदेशीय अपराधको सामना गर्न बलियो साझेदारी अपरिहार्य रहेको बताए।
उनले युएनओडिसी, नेपाल प्रहरी र नेपाल भन्सार विभागसँग मिलेर काम गर्दा अग्रपङ्क्तिमा खटिने जनशक्तिलाई अवैध लागुऔषध पहिचान गर्न, सीमा सुरक्षा सुदृढ बनाउन र समाजलाई सुरक्षित राख्न आवश्यक उपकरणहरू उपलब्ध गराउन मद्दत पुग्ने उल्लेख गरे।
यो संयुक्त प्रयासलाई अझ अगाडि बढाउँदै संयुक्त राज्य अमेरिकाले नेपालको कानुन कार्यान्वयन क्षमतालाई बलियो बनाउन, अवैध लागुऔषध तस्करीको प्रतिकार गर्न र दुवै देशको सुरक्षा एवं हितको रक्षाका लागि नेपालसँग सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

