वीरगन्ज । वीरगन्जको प्रसिद्ध शक्तिपीठ गहवामाईको रथयात्रा निकालिएको छ । विगत तीनबर्षदेखि लगातार निकालिदै आएको रथयात्रा यसबर्षपनि निकालिएको हो ।
बिहीबार बिहान गहवामाई मन्दिरमा पूजाआजा सहित निकालिएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाईपास, छपकैया हुदै मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर घडिअर्वा हुदै पुनः माईस्थान मन्दिर पुगेर समापन हुने माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहले जानकारी दिए ।
व्यवस्थित रुपमा रथयात्रा गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सादा पोशाकमा पनि प्रहरी परिचालन गरिएको सुरक्षा स्रोतले जनाएको छ ।
यात्राको सम्पूर्ण मार्गमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ट्राफिक व्यवस्थापनसमेत प्रभावकारी रूपमा गरिएको छ। गहवामाईको दर्शन र रथयात्रका लागि बिहानै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म श्रद्धालुहरू भक्तजनहरु उत्साहपूर्वक सहभागी भएका छन्।
रथयात्रा अघि पानी परेपनि पानीको प्रवाह नगरी भक्तजनहरु गहवामाई रथयात्राका लागि पुगेका छन् । वीरगन्जको मुख्य सडक विस्तारका लागि दायाँबायाँका संरचनाहरु भत्काउँदा केही असहज भएपनि रथयात्रामा सहभागीहरु अत्यन्तै श्रद्धापूर्वक सहभागी भएका छन् ।
बिहान रथयात्रापछि पूजा कार्यक्रम दिउँसो १२ बजे केही समयका लागि विश्राम हुनेछ। त्यसलगत्तै, दिउँसो १ बजेबाट पूजा कार्य पुनः सुरु गरिने कार्यतालिका रहेको छ।
धार्मिक विधि अनुसार बेलुका ४ बजे मुख्य हवन कार्य सम्पन्न गरिनेछ भने बेलुका ६ बजे महाआरतीको आयोजना गरिएको छ। आरती समापन लगत्तै साँझ ६ः३० बजेदेखि उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि प्रसाद ग्रहणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

