वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य बुद्धि प्रसाद (हरि) पन्तले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूका कारण ऐतिहासिक सिर्सिया नदी दुर्गन्धित नालामा परिणत भएको भन्दै संसद्मा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरूले आफ्नो उद्योगबाट निस्कने केमिकलसहितको विषाक्त पानी बिनाप्रशोधन सिधै नदीमा मिसाउँदा प्राचीन र पवित्र नदीको अस्तित्व संकटमा परेको बताए ।
सांसद पन्तले विगतमा अत्यन्तै श्रद्धाका साथ मनाइने लोकआस्थाको महापर्व छठमा सिर्सिया नदीकै पानी उभाएर अर्घ दिने गरिएको स्मरण गर्दै अहिले उद्योगहरूको लापरबाहीका कारण सो क्षेत्रमा खुट्टा समेत टेक्न नसकिने गरी दुर्गन्ध फैलिएको तर्फ सभामुखको ध्यानाकर्षण गराए ।
नदीमा मिसाइने फोहोर र रसायनका कारण वीरगन्ज क्षेत्रमा लामखुट्टेको प्रकोप अत्यधिक बढेको र नदी किनारका बस्तीहरूमा सर्वसाधारणलाई रातको समयमा चैनले सुत्न समेत नसक्ने वातावरण सिर्जना भएको उहाँले उल्लेख गरे ।
विगतका वर्षहरूदेखि नै यो समस्या विकराल बन्दै गएको भए तापनि अहिलेसम्मका कुनै पनि सङ्घीय, प्रदेश वा स्थानीय सरकारहरूले यसलाई चुनावी नारा र घोषणापत्रमा मात्र सीमित राखेको उनको आरोप थियो ।
दलहरूले चुनावी नारा बनाए पनि अहिलेसम्म समस्या समाधानका लागि कुनै ठोस कार्य नगरेको भन्दै उहाँले आक्रोस व्यक्त गरे ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अगाध विश्वासका साथ मतदान गरेका त्यस क्षेत्रका जनताले वर्तमान सरकारबाट सिर्सिया नदी सफाइको ठूलो अपेक्षा राखेको उनले बताए ।
सांसद पन्तले सिर्सिया नदीलाई पुनर्जीवन दिनका लागि यथाशीघ्र ठोस र प्रभावकारी कदम चाल्न सभामुखमार्फत सरकारसँग जोडदार माग गरेका छन् ।

