वीरगन्ज । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स (आईआरजीसी) ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य ठेगानाहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ।
रणनीतिक रूपमा महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्म्युज’ मा तेल ट्याङ्करहरूमाथि भएका हमलाहरूको जवाफमा अमेरिकाले इरानभित्र तीव्र सैन्य आक्रमण गरेपछि इरानले यो जवाफी कदम चालेको हो।
आईआरजीसीका अधिकारीहरुले सञ्चार सेटमा बोलेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा सुन्न सकिन्छ । इरानका अनुसार आफ्ना जल तथा हवाई सेनाको संयुक्त मिसाइल र ड्रोन अपरेशनमार्फत बहराइन र कुवेतमा रहेका प्रमुख अमेरिकी सैन्य आधार शिविरहरूलाई लक्षित गरिएको थियो।
यसअघि अमेरिकी सेन्ट्रल कमान्डले समुद्रमा जहाजहरूको स्वतन्त्र आवागमनमा अवरोध पुर्याएको र युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानका तटीय प्रणाली, मिसाइल प्रहार केन्द्र र सैन्य पूर्वाधारहरूमाथि व्यापक हमला सुरु गरेको थियो।
अमेरिकाको सोही कदमको बदला लिन आफूहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनामाथि कारबाही गरेको इरानले स्पष्ट पारेको छ।

