वीरगन्ज । बाराको निजगढमा सामान्य विवादले उग्र रूप लिँदा एक व्यक्तिले मासु काट्ने दाउ (खुकुरी) प्रहार गरी अर्का व्यक्तिलाई घाइते बनाएका छन्।
निजगढ नगरपालिका वडा नम्बर १ स्थित गोरु बजार क्षेत्रमा सोमबार अपराह्न दुई स्थानीयबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो।
विवाद बढ्दै जाँदा ५० वर्षीय धनबहादुर घिमिरेले ४० वर्षीय मानबहादुर योन्जनमाथि धारिलो हतियार प्रहार गरेका हुन्।
आक्रमणबाट योन्जनको टाउको र गर्दनमा गम्भीर चोट लागेको छ।
घाइतेको हाल निजगढस्थित सिटी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटना लगतै सक्रिय भएको इलाका प्रहरी कार्यालय निजगढको टोलीले आक्रमणकारी घिमिरेलाई हतियारसहित नियन्त्रणमा लिएको छ।
निजलाई हिरासतमा राखी घटनाको मुख्य कारणबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

