वीरगन्ज । बाराको पचरौता नगरपालिका वडा नम्बर १ स्थित नेपाल-भारत सीमा पिलर नम्बर ३६३/३० बाट करिब १५४ फिट उत्तर-पश्चिम जमुनिया खोलाको किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्दाजी ३३ देखि ३५ वर्ष उमेर देखिने ती पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
भारतीय सीमा सुरक्षा बल (SSB) ले आइतबार बेलुकी ७:४० बजेको समयमा प्रहरी चौकी पिपरपाती बारामा शवबारे जानकारी गराएको थियो।
खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) समसुदिन मिया तेलिको कमाण्डमा टोली घटनास्थल पुगेर क्षेत्रलाई सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा सोको (SOCO) सहितको टोली र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको कमाण्डमा टोली घटनास्थल खटिएका थिए।
प्रहरी चौकी पिपरपातीबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ पर्ने उक्त घटनास्थलमा प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया र मुचुल्का तयार पारेको छ।
राति १०:३५ बजेको समयमा घटनास्थलको मुचुल्का सकिएपछि मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाइएको प्रहरीले जनाएको छ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बारा प्रहरीले जनाएको छ ।

