वीरगञ्ज। गुणस्तरीय तथा व्यवहारमुखी शिक्षाप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै एपेक्स म्यानेजमेन्ट कलेजले ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रम अन्तर्गत अतितिरक्त क्रियाकलापको श्रृङखला सफलतापूर्वक अघि बढाएको छ।
कलेजले विद्यार्थीलाई शैक्षिक पाठ्यक्रममा मात्र सीमित नराखी वास्तविक कार्यक्षेत्रसँग परिचित गराउने उद्देश्यले प्रत्येक सेमेस्टरमा ३ वटा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।
नियमित रूपमा सञ्चालन हुने प्राज्ञिक कक्षा, प्रिजेन्टेसन, बैंक तथा औद्योगिक भ्रमण र शैक्षिक अवलोकन जस्ता गतिविधिबाहेक यो इएसिए सिरिजले विद्यार्थीको व्यावसायिक क्षमता, सञ्चार सीप, नेतृत्व कला, प्राविधिक ज्ञान तथा व्यावहारिक बुझाइ अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलिरहेको कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार शैक्षिक सत्र २०८३ को बिबिए दोस्रो सेमेस्टर अन्तर्गतका दुई वटा कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। जसमध्ये गत जेठ २३ गते ‘वर्कसप अन इफेक्टिभ पब्लिक स्पिकिङ’ र असार १३ गते ‘वर्कसप अन इआरपि एकाउन्टिङ सफ्टवेयर’ सम्पन्न भएका हुन्।
त्यस्तै बिबिए चौथो सेमेस्टर अन्तर्गतको ‘वर्कसप अन लिगल एन्ड एडमिनिस्ट्रेटिभ प्रोसिड्युर’ पनि गत जेठ ३० गते सम्पन्न भइसकेको छ। कलेजले बाँकी रहेका अन्य व्यावहारिक कार्यक्रमहरूको तालिकासमेत सार्वजनिक गरेको छ।
सार्वजनिक तालिका अनुसार बिबिए चौथो सेमेस्टरका लागि ‘वर्कसप अन प्रपोजल ररिपोर्ट राइटिङ’ आगामी असार २७ गते तथा ‘वर्कसप अन एडभान्स्ड एमएस एक्सेल एन्ड एसपीएसएस’ साउन २३ गते तय गरिएको छ।
त्यस्तै बिबिए दोस्रो सेमेस्टरका विद्यार्थीका लागि ‘वर्कसप अन बिजनेस क्यानभास मोडल’ आगामी साउन ९ गते सञ्चालन गरिनेछ। यी कार्यशालाहरूमार्फत विद्यार्थीहरूलाई उद्योग, बैंकिङ, प्रशासन, उद्यमशीलता तथा कर्पोरेट क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान र आधुनिक प्रविधिको प्रत्यक्ष सिकाइ प्रदान गरिने कलेज प्रशासनले जनाएको छ।
हरेक कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी उद्योग विज्ञ, व्यावसायिक व्यक्तित्व तथा विषय विशेषज्ञहरूलाई आमन्त्रण गरी उनीहरूको वास्तविक कार्यअनुभव विद्यार्थीमाझ साझा गराउने व्यवस्था मिलाइएको छ।
कलेजका अनुसार बिबिए पढ्ने प्रत्येक विद्यार्थीले आफ्नो ४ वर्षे (८ सेमेस्टर) अध्ययन अवधिमा कुल २४ वटा व्यावहारिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
यसले विद्यार्थीलाई केवल शैक्षिक डिग्री मात्र नभई बजारमा रोजगारी, उद्यमशीलता तथा उच्च शिक्षाका लागि आवश्यक पर्ने व्यावसायिक दक्षता विकास गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
कक्षा बाहिर नै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले ‘क्वालिटी एजुकेसन बियोन्ड क्लासरुम’ भन्ने मूल अवधारणालाई आत्मसात् गर्दै कलेजले भविष्यमा पनि यस्ता सीपमूलक तथा उद्योग–मैत्री कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

