वीरगन्ज । रोजगारीका लागि दक्षता अभिवृद्धि गर्ने उद्देश्यले वीरगन्जमा पाँचदिने तालिम सञ्चालन गर्ने भएको छ । लिडरशिप डेभेलपमेण्ट इन्स्टिच्युट संस्थाले बुधबारदेखि पाँचदिने तालिम सञ्चालन गर्ने भएको हो ।
संस्थाले आईतबार वीरगन्जका औद्योगिक प्रतिष्ठान, कलेज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा तालिमको आयोजना गर्ने जानकारी दिदै यसले अहिलेको बढ्दो बेरोजगारी र दक्षजनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्यले औद्योगिक तथा आर्थिक नगरी वीरगन्जमा अझैपनि रोजगारदाता र रोजगारीको खोजी गर्नेहरुबीच सम्बन्ध र सम्पर्क हुन नसकिरहेको अवस्थामा एलडीआई संस्थाले गरेको पहल सान्दर्भिक र उपयोगी रहेको बताए ।
उनले नेपाली समाजमा काम गर्ने संस्कृति र कामको प्रकृतिलाई फरक ढंगको बुझाईले गर्दा धेरै युवाहरु बैकिङ्ग क्षेत्रमा मात्रै आकर्षित हुने गरेको पाईएको बताउदै अन्य क्षेत्रको रोजगारीलाई पनि आकर्षणको क्षेत्र बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा हेल्भिटास नेपालका भरत सहनीले रोजगारीमा पहुँच बढाउनका लागि विभिन्न क्षमता र दक्षता अभिवृद्धि गर्ने तालिम र सेमिनारहरु आयोजना गर्दै आएकोले एलडीआईले दिने तालिममा अहिलेको युवाहरुमा काम गर्ने वातावरणको साथै उनीहरुको स्वभावमा पनि परिवर्तन ल्याउने खालको तालिम र प्रशिक्षण जरुरी रहेको बताए ।
एलडीआईका संस्थापक अनिल जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पनि युवाहरुलाई रोजगारीको पहुँच बढाउन एलडीआईले शुरु गर्न लागेको तालिम अत्यन्त महत्वपूर्ण र फलदायी हुने बताए ।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा.उमेश चौरसिया, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिष लाठ, नेपाल कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्रमुख वैज्ञानिक डा.विश्वेश्वर प्रसाद यादव, ग्लोबल बिजनेस कलेजका निर्देशक ओमप्रकाश श्रेष्ठ लगायत विभिन्न औद्योगिक प्रतिष्ठानका प्रबन्धक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

