वीरगन्ज । उपत्यका बाहिर पहिलो पटक कक्षा ११ मा कानून संकाय अध्ययन हुने वीरगन्ज कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ ।
एपेक्स म्यानेजमेण्ट कलेजको सभाहलमा सोमबार वीरगन्ज कलेजमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको हो । स्वागत समारोहको प्रमुख अतिथि मधेस विश्वविद्यालयका डीन अञ्जय मिश्रले उद्घाटन गरेका थिए ।
स्वागत समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै डी मिश्रले विद्यार्थीहरुलाई लगनशील र अनुशासित भएर मेहेनत गर्न सुझाव दिए । उनले कक्षा ११ भनेको आफ्नो भविष्यको जग बसाल्ने आधारस्तम्भ भएकोले यो अवस्थामा निकै गम्भीर भएर अध्ययनमा जोड दिन विद्यार्थीहरुलाई आग्रह गरे ।
कलेज सञ्चालक समितिका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले कलेज तह विद्यार्थीहरुको व्यक्तिगत जीवनको गोरेटो भएको र कलेजले गोरेटो बाटो मात्रै देखाउने भएकोले त्यसको स्तरोन्नतीमा भने विद्यार्थीहरुकै मेहेनत आवश्यक रहेकोमा जोड दिए ।
उनले कलेज र अध्ययन हुने विषयहरुको बारेमा जानकारी दिदै कतिपय विद्यार्थीहरुलाई कक्षा ११ मा के विषय लिएर पढ्ने भन्ने अन्योलमा नबस्न आग्रह गरे ।
उनले विद्यालयमा पढ्ने विषयहरु नै अनिवार्य हुने र बाँकी अन्य विषयहरु थप हुने भएकोले त्यसले विद्यार्थीहरुको सिकाई उपलब्धिमा सहयोग पुग्ने विषयहरुको स्पष्टता हुनुपर्ने बताए ।
क्याम्पस प्रमुख विनोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका सहायक क्याम्पस प्रमुख रुदल ठाकुरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कलेजका सञ्चालक तथा प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीले विद्यार्थीहरुमा अनुशासन र लगनशीलता हुनु आवश्यक रहेको बताए । कार्यक्रममा कलेजका विभिन्न शंकायका सदस्यहरु तथा शिक्षक र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

