वीरगंज । जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन ‘इच्छुक’ को २४ औं स्मृति दिवस मंगलवार वीरगंजमा दीप प्रज्वलन गरि मनाइएको छ ।
प्रेस सेन्टर नेपाल मधेस प्रदेश र पर्सा जिल्लाको आयोजनामा वीरगन्जको घण्टाघरमा दीप प्रज्जवलन गरिएको हो। आजभन्दा २४ बर्ष अघि २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेलमै यातना दिएर जेठ १३ गते आजैको दिन महेन्द्र पुलिस क्वलवमा पत्रकार इच्छुकको हत्या गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा संयोजक के.सी. लामिछानेले इच्छुकले ४६ वर्षको उमेरमा देश र जनताको मुक्तिका लागि आफ्नो जीवन आहुति दिए तर कहिल्यै नझुकेको बताए ।
प्रगतिवादी साहित्य र जनपत्रकारिताका माध्यमबाट समाजको आमूूल परिवर्तन गर्नका लागि उनले पु¥याएको योगदान अतुलनीय रहेकोले आजको पुस्ताले उनको त्यो योगदान स्मरण गरिरहनु पर्ने बताए ।
लामिछाने उनको त्यागबाट आजको नेपाली समाजले धेरै कुरा सिक्न जरुरी रहेको बताए । इच्छुकको हत्याको खबर सार्वजनिक गर्ने चर्चित पत्रकार किशोर श्रेष्ठलाई अहिलेको सरकारले फेरी षड्यन्त्रका तानाबुना बुनी रहेको आरोप लगाए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटेले स्व इच्छुकका बारेमा प्रकाश पार्दै कृष्ण सेनहरुले जीवन आहुती दिएर ल्याएको व्यावस्थामा अहिले इच्छुकलाई पक्राउ गरी बर्बर यातना दिएर हत्या गरेका हत्याराहरु सांसद बनेको बताए । उनीहरुलाई पनि छानविन गरी कारवाही गर्नुपर्ने माग गरे ।
नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले अहिले पत्रकारितालाई राज्य नियन्त्रित बनाउन खोजिएको भन्दै त्यसको सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताए । उनले कृष्ण सेन इच्छुकको त्याग र बलिदानलाई शक्तिमा बदलेर जनपक्षीय पत्रकारितालाई जोगानुपर्ने आवश्यकता औंल्याए ।
नेपाल पत्रकार महासंघ पर्साका शाखाका अध्यक्ष ओमप्रकाश खनालले सरकारले अहिले सञ्चार माध्यमहरुलाई संकटमा पार्ने नीति लिएको र यस्तो बेलामा झन् कृष्णसेन ‘इच्छुक’ हरुले गरेको विद्रोह र त्याग अझ बढी महत्व राख्ने भएकोले उनको त्याग र बलिदानलाई सधैं स्मरणी रहने बताए ।
शिवनाथ यादवको अध्यषतामा भएको कायृक्रमको संचालन प्रेस सेन्टरका शाखा सचिव अजित भूजेलले गरेका थिए ।

