जनकपुरधाम । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको बजेट खर्च विवरण सार्वजनिक गरेको छ।
नयाँ मन्त्रीमण्डल गठन भएपछि अर्थमन्त्रीको कार्यभार सम्हालेकै दिन युवराज भट्टराईले हरेक हप्ता प्रदेश सरकारको खर्च, सञ्चिती कोष लगायतको बजेट खर्च सार्वजनिक गर्ने निर्णय गरेका थिए । सोही अनुसार बुधबार नै मन्त्री भट्टराईको निर्देशनमा बजेट खर्च सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार प्रदेश सरकारको कुल बजेट खर्च निराशाजनक देखिएको छ। अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित कुल ४६ अर्ब ९८ करोड ३३ लाख ८१ हजार रुपैयाँ बजेटमध्ये हालसम्म मात्र ५ अर्ब १५ करोड ३ लाख १४ हजार ३११ रुपैयाँ खर्च भएको छ।
यो कुल बजेटको करिब १०.९६ प्रतिशत मात्र हो। मन्त्रालयका अनुसार कुल खर्चमध्ये चालुतर्फ ३ अर्ब ६० करोड ७२ लाख ९८ हजार ६३४ रुपैयाँ खर्च भएको छ।
यस्तै, प्रदेशको विकास निर्माणसँग जोडिएको पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ। ३१ अर्ब ३३ करोड ९१ लाख २९ हजार १०० रुपैयाँ पुँजीगत बजेट रहेकोमा हालसम्म मात्र ६ अर्ब ७५ करोड ७६ लाख १४ हजार ७४५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
आर्थिक वर्षको अन्तिम चरणमा आइपुग्दा समेत विकास बजेट न्यून मात्रामा खर्च हुनुले प्रदेश सरकारको कार्यक्षमतामाथि पुनः प्रश्न उठाएको छ।

